कानुन विपरीत पञ्जीकाधिकारीको अधिकार प्रत्यायोजन भएको भन्दै विभागद्वारा वडा कार्यालयहरूलाई सचेत
60 पटक पढिएको
काठमाडौं, असोज १४: गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै वडा कार्यालयहरूलाई स्थानीय पञ्जीधिकारीको जिम्मेवारी, वडा सचिव (प्रशासकीय प्रमुख) आफैँले वहन गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ। विभागले एक पत्र जारी गर्दै केही वडा कार्यालयहरूमा वडा सचिवहरूले आफूलाई प्राप्त स्थानीय पञ्जीकाधिकारीको जिम्मेवारी मातहतका अन्य कर्मचारीलाई प्रत्यायोजन गरेको गुनासो वा जानकारी प्राप्त भएकाले यस्तो ध्यानाकर्षण गराएको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ को उपदफा (२) बमोजिम प्रत्येक गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयको प्रशासनिक प्रमुखको रूपमा काम गर्न अधिकार प्राप्त कर्मचारी (वडा सचिव) ले स्थानीय पञ्जीकाधिकारी (रजिस्ट्रार) को रूपमा कार्य गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ।
तर प्रचलित कानुन बमोजिम स्थानीय पञ्जीकाधिकारीको जिम्मेवारी अन्य कर्मचारीलाई प्रत्यायोजन गर्न नमिल्ने भएकोले वडा कार्यालयका प्रशासनिक प्रमुख स्वयंले नै उक्त जिम्मेवारी बहन गर्नुपर्ने निर्णय अनुसार विभागले अनुरोध गरेको छ।
विभागले देशैभरका सबै स्थानीय तहहरूलाई (७५३ वटा) समेत बोधार्थ पठाउँदै यससम्बन्धी आवश्यक सहजीकरण गरिदिनुहुन आग्रह गरेको छ। शाखा अधिकृत मनि कुमार तामाङद्वारा जारी गरिएको यस पत्रले पञ्जीकरण कार्यलाई थप प्रभावकारी र कानुनसम्मत बनाउने अपेक्षा गरिएको छ।







