नेपाली कांग्रेस धादिङ–२ मा क्षेत्रीय नेतृत्वसँगै महाधिवेशन प्रतिनिधि चयन, सभापतिमा राजन बुर्लाकोटी
9पटक पढिएको
१७ आश्विन २०८३, शनिबार ०८:५४
सम्पादक: धादिङ न्यूज
धादिङ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट क्षेत्रीय कार्यसमिति चयन हुनुका साथै विभिन्न समूह तथा क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएका छन्। सदरमुकाम धादिङबेँसीसहित जिल्लाको मध्य तथा उत्तरी भेगका सात गाउँपालिका समेटिएको यस क्षेत्रमा भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरूले पार्टीको १५औँ महाधिवेशनमा क्षेत्र नं. २ को प्रतिनिधित्व गर्नेछन्।
शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार क्षेत्रीय सभापतिमा राजन बुर्लाकोटी १ हजार ४ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५४७ मत प्राप्त गरेका छन्। कुल १ हजार ६७९ मत गणना हुँदा बुर्लाकोटी ४५७ मतान्तरले निर्वाचित भएका हुन्। क्षेत्रीय कार्यसमितिको सचिवमा सरोज पाण्डे ९५३ मतसहित र सहसचिवमा नवीनकुमार श्रेष्ठ ७९३ मतसहित निर्वाचित भएका छन्। सदस्यतर्फ भीमबहादुर ढकाल ९८५ र सूर्यबहादुर कुमाल ७३३ मतसहित निर्वाचित भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ महिला खुलामा रिता थापा मगर १ हजार १४७, कल्पना अधिकारी १ हजार ६३, यो माया तामाङ ७१८ र लक्ष्मी गिरी ६६६ मतसहित निर्वाचित भएका छन्। खुलातर्फ रमेशप्रसाद धमलाले सर्वाधिक १ हजार २९७ मत प्राप्त गरेका छन्। उनीसँगै भीमप्रसाद ढुङ्गाना, राकेश धमला, दिलमान पाख्रिन तामाङ, रामनाथ अधिकारी, ईश्वर अधिकारी, दीपक कोइराला, झंकनारायण श्रेष्ठ, विकास श्रेष्ठ र सेतेमान तामाङ निर्वाचित भएका छन्।
अन्य समूहअन्तर्गत श्रमिकतर्फ तिलकप्रसाद ढुङ्गाना, पेशागत विषयविज्ञतर्फ कुलबहादुर गुरुङ, युवा महिलातर्फ सरिता तामाङ तथा युवा खुलातर्फ गोपीकृष्ण भण्डारी र अश्विन दुवाडी निर्वाचित भएका छन्। युवा खुला समूहको परिणाममा भण्डारीले ८५८ र दुवाडीले ५५९ मत प्राप्त गरेका छन्। दुवाडी तेस्रो स्थानमा रहेका सन्तोष बस्ताकोटीभन्दा ६ मतले अगाडि रहँदै निर्वाचित भएका हुन्।
त्यस्तै अपाङ्गता समूहबाट बिनोद रिजाल, अल्पसंख्यकबाट डेभिड घले तथा प्रजातन्त्र सेनानी/शहीद परिवार समूहबाट चिजकुमार तामाङ निर्वाचित भएका छन्। समानुपातिक दलिततर्फ राम्री नेपाली, आदिवासी जनजाति महिला समूहबाट सिता चोदेन गुरुङ, सरिता राना मगर र शान्तकुमारी तामाङ तथा आदिवासी जनजाति खुलातर्फ राजकुमार श्रेष्ठ, धनबहादुर गुरुङ र योगबहादुर तामाङ निर्वाचित भएका छन्। खसआर्य खुलातर्फ रामप्रसाद अधिकारी र देवीप्रसाद कोइराला निर्वाचित भएका छन्।
यससँगै नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ मा क्षेत्रीय नेतृत्व चयन र १५औँ महाधिवेशनका लागि विभिन्न समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया पूरा भएको छ। सार्वजनिक मतपरिणामअनुसार क्षेत्रीय नेतृत्वदेखि विभिन्न समावेशी समूहसम्मका प्रतिनिधि चयन भएका छन्।