सिद्धलेकमा कार्तिक ५ देखि ‘तेस्रो स्व. लोक बहादुर गुरुङ स्मृति कप’ भलिबल प्रतियोगिता , प्रथम पुरस्कार रु. १ लाख ११ हजार

71 पटक पढिएको

५ कार्तिक २०८३, बुधबार १९:४२ सम्पादक: धादिङ न्यूज

धादिङ, ४ कार्तिक – तमु युवा समाज (सिद्धलेक-२, खिरेँ, धादिङ) को आयोजनामा “तेस्रो स्व. लोक बहादुर गुरुङ स्मृति कप २०८३ खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता” कार्तिक ५ गतेदेखि ७ गतेसम्म हुने भएको छ। आयोजकले प्रतियोगिताको पुरा खेल तालिका  तथा पुरस्कार राशिको विवरण सार्वजनिक गरिसकेको छ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. ५५ हजार ५५५ र तृतीय हुने टोलीले रु. ३३ हजार ३३३ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। यसका साथै प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, उत्कृष्ट खेलाडी ,प्लेयर अफ द टुर्नामेन्ट र उत्कृष्ट कोच विधामा समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा धादिङसहित छिमेकी जिल्लाका गरी कुल ११ वटा टोलीहरूलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। समूह ‘ए’ मा सिद्धलेक गाउँपालिका, खड्कदेवी युवा क्लब मैदी र नलाङ कुम्पुर युनाइटेड रहेका छन्। समूह ‘बी’ मा दुप्तेश्वर गाउँपालिका (नुवाकोट), गण्डकी गाउँपालिका (गोरखा) र बराम समाज सिद्धलेक रहेका छन्। त्यस्तै समूह ‘सी’ मा उग्रचण्डी युवा क्लब, नवकुण्ड गाउँपालिका (रसुवा) र जीवन ज्योती युवा समाज समावेश छन् भने समूह ‘डी’ मा भरतपुर-१८ (चितवन) र पञ्चकन्या गाउँपालिका (नुवाकोट) रहेका छन्।

कार्तिक ५ गतेदेखि नै सुरु हुने लिग चरणका खेलहरूबाट छानिएका उत्कृष्ट टोलीहरू क्वाटरफाइनल र सेमिफाइनल हुँदै उपाधिका लागि भिड्नेछन् भने तेस्रो स्थानका लागि समेत प्रतिस्पर्धा हुनेछ।