ज्याला रोकिँदा धादिङबेसीमा पुल निर्माणमा खटिएका १२ जना मजदुर दसैँमा घर जानबाट वञ्चित
119 पटक पढिएको
धादिङ । काम गरेको ज्याला नपाएपछि धादिङबेसीमा पुल निर्माणमा खटिएका १२ जना मजदुर दसैँमा घर जानबाट वञ्चित भएका छन्। ठेकेदारले ज्याला भुक्तानी नगर्दा घर फर्किने बाटो खर्चसमेत नभएका उनीहरू स्थानीय बासिन्दाले उपलब्ध गराएको खाद्यान्नको भरमा दिन काटिरहेका छन्।
धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपलखोलामा निर्माणाधीन पक्की पुलमा मजदुरी गर्दै आएका उनीहरू चाडपर्वका बेला परिवारसँग बसेर दसैँ मनाउने चाहना हुँदाहुँदै पनि घर जान नपाएका हुन्। छोराछोरीलाई नयाँ लुगा किनिदिने र परिवारसँग बसेर मिठोमसिनो खाने सपना बोकेका मजदुर अहिले आफ्नै ज्याला नपाउँदा समस्यामा परेका छन्।
पुल निर्माणमा खटिएका कुल ३६ जना मजदुरमध्ये २४ जना सरसापट गरेर तथा घरबाट पैसा मगाएर घर फर्किएका छन्। बाँकी १२ जना भने बाटो खर्चसमेत जुटाउन नसकेपछि धादिङबेसीमै रोकिएका छन्।
सल्यानका अम्मर कार्कीका अनुसार मजदुरले काम गरेबापत पाउनुपर्ने रकम अझै भुक्तानी भएको छैन। “एक जनाको ३० हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ। कुल ३६ जनामध्ये २४ जनाले सरसापट र घरबाटै पैसा मगाएर गए। हामी १२ जनाको भने बिचल्ली भयो,” उनले भने, “घर पुग्न तीन दिन लाग्छ। बाटो खर्च मात्रै पाए पूर्णिमाअगाडि भए पनि पुगिन्थ्यो कि भन्ने आश छ।”
ठेकेदारले पैसा दिने आश्वासन दिँदै समय लम्ब्याउने गरेको कार्कीको भनाइ छ। लामो समयदेखि काम गरेर पनि पारिश्रमिक नपाउँदा चाडपर्वका बेला झन् कठिन अवस्था भोग्नुपरेको उनले बताए।
सल्यानकै सुशील खत्री र सुर्खेतका काशीराम विकको अवस्था पनि उस्तै छ। परिवारले दसैँमा घर फर्किने र बालबालिकाका लागि नयाँ कपडा तथा मिठो खानेकुरा ल्याउने आशा गरेको भए पनि आफूहरू घर जान नसकेको उनीहरूको गुनासो छ।
“छोराछोरीले नयाँ कपडा र मिठो खानेकुरा ल्याउला भनेर बाटो पर्खिरहेका छन्। तर आफैँ जाने भाडासम्म छैन,” विकले भावुक हुँदै भने, “हामी मजदुरको चाहिँ दसैँ नहुने हो र? जसरी भए पनि घर जाने वातावरण बनाइदिनुपर्यो।”
पुल निर्माणमा काम गरेका सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर अहिले साविक नवदुर्गा आधारभूत विद्यालयको भवनमा बसिरहेका छन्। कामको ज्याला नपाएर घर जानसमेत नसकेका उनीहरूलाई पुल बगैँचाका स्थानीय बासिन्दाले खाद्यान्न सहयोग गर्दै आएका छन्।
निर्माण व्यवसायी राजन आले मगरले भने मजदुरहरू स्वयं घर नजाने निर्णय गरेकाले उनीहरूको व्यवस्थापन स्थानीयस्तरमै गरिएको दाबी गरेका छन्। सम्झौताअनुसार अर्का ठेकेदार श्याम बुढाथोकीले भुक्तानी नगर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ।
“धेरैलाई पैसा दिएर पठाइसकिएको छ। उहाँहरूले भनेजस्तो प्रतिव्यक्ति ३० हजार रुपैयाँ दिन बाँकी छैन। अहिले दसैँको मुखमा तुरुन्तै पैसा दिन सकिने अवस्था छैन,” आले मगरले भने।
पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेको पुलका मजदुरको समस्याबारे धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले पनि ध्यानाकर्षण भएको बताएकी छन्। मजदुरलाई घर फर्काउन आवश्यक पहल भइरहेको उनको भनाइ छ।
“ठेकेदारसँग निरन्तर कुराकानी भइरहेको छ। मजदुरहरूलाई सहज रूपमा घर पठाउने वातावरण बनाउन पहल गरिरहेका छौँ,” प्रमुख जिल्ला अधिकारी पाण्डेयले भनिन्।
चाडपर्वमा परिवारसँग भेटघाट गरी दसैँ मनाउने अपेक्षा गरेका मजदुरहरू आफ्नै श्रमको पारिश्रमिक नपाउँदा समस्यामा परेका छन्। पुल निर्माणमा काम गरेका मजदुरको ज्याला भुक्तानीमा ढिलाइ हुँदा उनीहरूलाई घर फर्किनसमेत कठिन भएको छ। स्थानीयको सहयोगमा गुजारा गरिरहेका मजदुरले अब आफ्नो मेहनतको पैसा पाउने र परिवारसँग दसैँ मनाउन घर जान पाउने आशा गरेका छन्।








Thanks for sharing this useful information.