काठमाडौँको बसुन्धारामा कारको ठक्करबाट एक महिलाको मृत्यु

65 पटक पढिएको

२४ कार्तिक २०८३, सोमबार १५:०६ सम्पादक: धादिङ न्यूज

धादिङ, २३ कात्तिक — काठमाडौँको बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको दुःखद निधन भएको छ। दुर्घटनामा संलग्न कार चालक धादिङ घर भई हाल काठमाडौँको बालुवाटार बस्ने शान्ताकुमारी तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धारास्थित सडकमा धादिङकी तामाङले चलाएको बा.प्र.०१-०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट स्कुटरमा सवार दोलखा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने २७ वर्षीया ङबुदि शेर्पाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालक दोलखाका सोमबहादुर धामी भने सामान्य घाइते रहेका छन्।

प्रहरीले कार चालक धादिङकी शान्ताकुमारी तामाङ र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।