घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
91 पटक पढिएको
चितवन, २३ कात्तिक – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि अवरुद्ध सडक आठ घण्टा पछि सञ्चालनमा आएको छ।
सोमबार बिहान करिब ५:३० बजे सडकमाथिबाट ठूलो सुक्खा पहिरो खस्दा मुग्लिन–मलेखु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको थियो। पहिरोका कारण चाडपर्वका बेला काठमाडौँ भित्रिने र बाहिरिने हजारौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार डिभिजन सडक कार्यालय भरतपुर र नागढुङ्गा–मुग्लिन सडक आयोजनाको समन्वयमा मुग्लिन तथा काठमाडौँतर्फबाट लोडर र एक्साभेटर परिचालन गरी पहिरो हटाइएको हो। लगातार ढुङ्गा र माटो खस्ने जोखिमका बाबजुद गरिएको प्रयासपछि दिउँसो १:३० बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको छ।
घोप्टेभिरमा यसअघि आइतबार पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो। यस क्षेत्रको भिर कमजोर रहेको र निरन्तर पहिरो खस्ने जोखिम रहेकाले यस खण्डमा यात्रा गर्ने यात्रु तथा चालकहरूले सास्ती बेहोर्नुपरेको छ।







