सङ्घीय सरकार उदासिन बने पनि फुर्केखोलामा स्थानीय तहको सहकार्य अनुकरणीय: सांसद श्रेष्ठ
63 पटक पढिएको
धादिङबेंसी- प्रतिनिधिसभा सदस्य गङ्गादेवी श्रेष्ठले वर्तमान सरकारले सञ्चारमाध्यममाथि अंकुश लगाउँदै तिनलाई कमजोर बनाएर बन्द गराउने रणनीति अपनाएको आरोप लगाएकी छन्। प्रेस चौतारी नेपाल धादिङले दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले यस्तो धारणा राखेकी हुन्।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको शक्तिकै आडमा सरकार परिवर्तन भई सत्तामा पुगेकाहरू अहिले तिनै सञ्चारमाध्यमलाई दबाउन लागिपरेको सांसद श्रेष्ठको भनाइ थियो। सरकारले सञ्चारमाध्यमको प्रभाव र एल्गोरिदमबारे राम्रोसँग बुझेकाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउँदै उनले विगत ३५ वर्षसम्म केही नगरेको दाबी गरेर नागरिकको आँखामा भ्रम छर्ने काम भइरहेको टिप्पणी गरिन्। आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहने र सञ्चार क्षेत्रमाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने उनले स्पष्ट पारिन्।
कार्यक्रमका क्रममा सांसद श्रेष्ठले जिल्लाको महत्त्वपूर्ण पूर्वाधार फुर्केखोला पुल निर्माण र स्थानीय यातायात सहज बनाउनेतर्फ पनि प्रतिबद्धता जनाइन्। भोटेकोसीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङका आठ स्थानीय तह र छिमेकी जिल्ला गोरखाका नागरिकहरूले लामो समयदेखि सास्ती खेप्दै आएको स्मरण गराउँदै उनले सङ्घीय सरकारले समयमै कदम नचालेकामा दुःख व्यक्त गरिन्।
सङ्घीय सरकारको तर्फबाट पहल नभए पनि नागरिकको सास्ती हटाउन धादिङका १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरू एकजुट भई तिहारलगत्तै अस्थायी रूपमा पन्टुन ब्रिज सञ्चालन गर्ने तयारी गर्नु प्रशंसनीय र अनुकरणीय उदाहरण भएको उनले बताइन्। विपद्को समयमा राजनीतिक तथा प्रशासनिक सीमाभन्दा माथि उठेर खट्ने जनप्रतिनिधि, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मी तथा व्यवसायीहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले फुर्केखोलामा स्थायी पक्की पुल निर्माण, वैकल्पिक मार्गको स्तरोन्नति र कालोपत्रेका लागि सङ्घीय संसद्बाट सरकारको ध्यानाकर्षण गराइरहने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षा महासंघको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै प्रविधिको विकाससँगै पत्रकारहरू पनि अद्यावधिक हुनुपर्नेमा जोड दिए।
त्यसैगरी, प्रेस चौतारी नेपालका केन्द्रीय परिषद सदस्य केशव अधिकारीले पत्रकारहरूमाथि असुरक्षा बढ्दै गएको र सामाजिक सञ्जालको दुरुपयोग गरी मिडियामाथिको विश्वास भङ्ग गराउने प्रयास भइरहेको बताए। जनताका सवालमा बोल्दा र लेख्दा सरकार समर्थकहरूले पत्रकारहरूलाई बदनाम गर्ने तथा हतोत्साही बनाउने काम गरिरहेकाले जोसुकैबाट हुने गलत कार्यविरुद्ध नडराई निर्भीकताका साथ लेख्न र बोल्न पत्रकारहरू तयार हुनुपर्नेमा उनले जोड दिए।
प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले पत्रकारहरूको क्षमता विकास र सञ्चारमाध्यमलाई स्वरोजगार एवं आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।







