देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी एकै दिन आठ जनाले गुमाए ज्यान

19 पटक पढिएको

२४ कार्तिक २०८३, सोमबार २०:१८ सम्पादक: धादिङ न्यूज

धादिङबेंसी -देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा आठ जनाले ज्यान गुमाएका छन्। नुवाकोट, दैलेख, बर्दिया र कपिलवस्तुमा भएका  दुर्घटनामा  आठ जनाको मृत्यु भएको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको छ। उक्त दुर्घटनामा मोटरसाइकल चालक तामाङसहित सवार विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प ५८७७ नम्बरको मोटरसाइकल र भे१०प ९९३६ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अभिषेक चौधरीको जिल्ला अस्पताल बर्दिया र महेन्द्र रिजालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क प्र ०२–००१ च १२१५ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–७ बस्ने २२ वर्षीय योगेश सिंखडा र बोलेरोमा सवार सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय रने सार्की रहेका छन्।