आजको मौसम पूर्वानुमान : देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो लाग्ने सम्भावना

65 पटक पढिएको

२८ कार्तिक २०८३, शुक्रबार ०६:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानको समयमा तराईका साथै उपत्यका र नदी बेसिनका खोँचहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी र हिमाली भू–भागमा आंशिक रूपमा आकाशमा बादल लाग्नेछ। विशेष गरी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, आज राति पनि देशका पहाडी र हिमाली भू–भागमा आंशिक बदलीको स्थिति कायम रहनेछ। विशेष गरेर कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा रात्रिको समयमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ। बिहानपख तराईका साथै उपत्यका र विभिन्न खोँचहरूमा हुस्सु तथा कुहिरो लाग्ने भएकाले यातायात आवागमन तथा दैनिक जनजीवनमा सामान्य असर पर्न सक्ने तर्फ मौसमविद्हरूले सचेत गराएका छन्।