असिनापानीले धादिङ र नुवाकोटको विभिन्न स्थानमा धानबाली र तरकारी खेतीमा ठूलो क्षति
100 पटक पढिएको
धादिङ : कात्तिक २५ गते दिउँसो अकस्मात् परेको असिनासहितको वर्षाले धादिङ र नुवाकोटको विभिन्न स्थानमा धान तथा तरकारी बालीमा ठूलो क्षति पुगेको छ। पाकेर भित्र्याउने तयारीमा रहेको बालीमा असिनापानीले क्षति पुर्याएपछि किसानहरू चिन्तामा परेका छन्।
धादिङको गल्छी गाउँपालिका–८ अन्तर्गत साविक गोगनपानी वडा नं. २ र ३ मा असिनापानीले सबैभन्दा बढी असर पारेको छ। स्थानीय सामाजिक कार्यकर्ता सक्षम नेपालका अनुसार प्रारम्भिक अनुमानमा यस क्षेत्रमा मात्रै करिब ५०० घरधुरी प्रभावित भएका छन् भने भित्र्याउने बेलाको करिब ५ हजार मुरी धानमा क्षति पुगेको छ। धानबालीका साथै तोरी, कोदो तथा अन्य तरकारी बालीमा समेत ठूलो क्षति भएको अनुमान गरिएको छ।
गत कात्तिक २५ गते बुधबार जिल्लाको नीलकण्ठ नगरपालिकाका केही भागका साथै गल्छी, थाँक्रे, धुनीबेंसी लगायतका पालिकाका विभिन्न स्थानमा असिनापानी परेको थियो। गल्छी गाउँपालिका–८ का किसान किशोर थापाले असिनापानीले गल्छी–८ र थाँक्रे–११ मा निकै ठूलो क्षति पुर्याएको बताउनुभयो। उहाँका अनुसार पाडीखेत, भैँसे, धारापानी, घाङ्ग्रे, सेतेढुंगा, तगारे ,बरूवालटार लगायतका खेत र फाँटमा लगाइएको धान, आलु तथा तरकारी बालीमा ठूलो नोक्सानी पुगेको छ। असिनापानीले स्थानीय किसानहरू रामकुमार बुढाथोकी, रामबहादुर कुँवर, गोकर्ण थापा र गौतम बुढाथोकी लगायतका कृषकको बालीनालीमा समेत ठूलो क्षति पुर्याएको छ।असिनासहितको वर्षाले धानबालीका अतिरिक्त व्यावसायिक रूपमा लगाइएका काउली, बन्दा, गोलभेँडा तथा अन्य तरकारीबालीमा पनि सामान्य असर परेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय तहका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन गरेपछि कृषि उपजमा भएको क्षतिको यकिन तथ्याङ्क सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।
जिल्लाभर भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य सुरु भएको कृषि विकास कार्यालय धादिङले जनाएको छ। कार्यालयका सूचना अधिकारी जयराम अधिकारीका अनुसार जिल्लाका सबै स्थानीय तहका कृषि शाखासँग समन्वय गरी विवरण सङ्कलन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था यकिन हुने उहाँले बताउनुभयो । लगातारको सार्वजनिक बिदापछि शुक्रबार कार्यालय खुलेसँगै स्थानीय पालिकाहरूमार्फत क्षतिको तथ्यांक संकलन भइरहेको छ। पीडित कृषकहरूले प्रभावित क्षेत्रको तत्काल स्थलगत अनुगमन गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।

यसैबीच, बुधबार अपराह्न परेको असिनासहितको वर्षाले छिमेकी जिल्ला नुवाकोटका किसानको धानबालीमा पनि सामान्य क्षति पुर्याएको छ। वर्षाका कारण काटेर खेतमा राखिएको धान भिज्नुका साथै काट्न बाँकी रहेको धानबालीसमेत प्रभावित भएको हो। जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख श्रीकृष्ण अधिकारीले प्रारम्भिक जानकारीअनुसार खेतमा रहेको र भित्र्याउन बाँकी धानमा असर पुगेको बताउँदै क्षतिको वास्तविक अवस्था पत्ता लगाउन आगामी सोमबारदेखि विवरण संकलन गरिने जानकारी दिनुभयो।
नुवाकोटमा यस वर्ष करिब १५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा करिब ८० प्रतिशत धान किसानले भित्र्याइसकेका छन्। बाँकी धान काट्ने र भित्र्याउने तयारी भइरहेका बेला असिनासहितको वर्षा भएको हो। विगत दुई वर्ष लगातार धान भित्र्याउने समयमा परेको बेमौसमी वर्षाले ठूलो नोक्सानी व्यहोरेका नुवाकोटका किसानले यस वर्ष अधिकांश धान भित्र्याइसकेकाले क्षति तुलनात्मक रूपमा कम हुने अनुमान गरिएको छ। कृषि प्राविधिकहरूले भिजेको धान ओसिलो अवस्थामै राख्दा कुहिने र ढुसी लाग्ने जोखिम रहने भएकाले घाममा राम्ररी सुकाएर मात्र भण्डारण गर्न किसानलाई आग्रह गरेका छन्।







