प्रदेशस्तरीय कराते छनोटको तयारीमा रहेका २० वर्षीय खेलाडी दिपराज गुरुङको अठोट दुर्घटनासँगै सधैँका लागि अधुरै

98 पटक पढिएको

२८ कार्तिक २०८३, शुक्रबार २०:४५ सम्पादक: धादिङ न्यूज

धादिङ । आगामी मंसिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक जित्ने लक्ष्यसहित कराते खेलको निरन्तर अभ्यासमा जुटिरहेका धादिङका एक होनहार तथा उदीयमान युवा खेलाडीको मोटरसाइकल दुर्घटनामा परी दुःखद निधन भएको छ।

धादिङको नीलकण्ठ नगरपालिका–१, धुसेनी निवासी २० वर्षीय कराते खेलाडी दिपराज गुरुङको बुधबार भाइटीकाको दिन भएको सवारी दुर्घटनामा परी अल्पायुमै ज्यान गएको हो। पारिवारिक तथा स्थानीय स्रोतका अनुसार तिहारको उत्सव चलिरहेकै बेला भएको यो अप्रत्याशित घटनाले सिङ्गो गाउँ नै स्तब्ध बनेको छ।

स्थानीय विशाल गुरुङका अनुसार वर्षाका कारण सडक चिप्लो र हिलाम्मे भएकाले गुरुङले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनालगत्तै गम्भीर घाइते अवस्थामा रहेका गुरुङलाई स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै निधन भएको हो। चिकित्सकका अनुसार टाउको तथा शरीरका संवेदनशील भागमा गम्भीर चोट लागेका कारण उहाँलाई बचाउन नसकिएको हो।

सानै उमेरदेखि कराते खेलप्रति गहिरो रुचि राख्दै आएका गुरुङ खेलकुदलाई नै आफ्नो भविष्य निर्माणको मुख्य आधार बनाउने सपना बोकेर अनुशासित रूपमा सक्रिय थिए । जिल्लास्तरीय विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका उहाँ आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन तीव्र तयारीमा  थिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न कात्तिक २८ गते आयोजना हुन लागेको बागमती प्रदेशस्तरीय कराते छनोट प्रतियोगितामा सहभागी हुन उनले दैनिक कडा प्रशिक्षण गरिरहेका थिए । प्रदेशस्तरीय छनोट चरण पार गर्दै बागमती प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा स्थान बनाउने र जिल्लाको नाम उँचो राख्ने उनको अठोट दुर्घटनासँगै सधैँका लागि अधुरै बनेको छ।

खेलकुदमार्फत आफ्नो छुट्टै पहिचान बनाउने र उज्ज्वल भविष्य निर्माण गर्ने ऊर्जाशील उमेरमा रहेका गुरुङको असामयिक निधनले उनको परिवार, आफन्त, साथीभाइ, प्रशिक्षक तथा समग्र खेलकुद क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ। परिवारको भरोसा र समाजका प्रेरणाका स्रोत मानिने दिपराजको निधनले धुसेनी गाउँ शोकमग्न छ।

राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने संघारमा रहेका अत्यन्तै सम्भावना बोकेका युवा प्रतिभा गुमाउँदा नेपाली कराते क्षेत्रले अपूरणीय क्षति व्यहोरेको खेलप्रेमी तथा प्रशिक्षकहरूले बताएका छन्। उनको निधनले धादिङको समग्र खेलकुद विकास र युवा खेलाडीहरूको मनोबलमा समेत ठूलो रिक्तता सिर्जना गरेको छ।