असिनापीडित किसानलाई राहत दिलाउन पहल गर्ने सांसद तामाङको प्रतिबद्धता

60 पटक पढिएको

२८ कार्तिक २०८३, शुक्रबार २१:४६ सम्पादक: धादिङ न्यूज

धादिङ । भाइटीकाको दिन परेको भीषण असिनापानीले धादिङको गल्छी गाउँपालिका–८, गोगनपानीमा किसानहरूको धान, तोरी र तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ। भित्र्याउने बेलाको बालीनाली नष्ट भएपछि चिन्तित बनेका पीडित किसानहरूलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिने धादिङ क्षेत्र नं. १ की संघीय सांसद आशिका तामाङले बताएकी छन्।
शुक्रबार क्षतिग्रस्त क्षेत्र गोगनपानी पुगेर स्थलगत अवलोकन गर्दै सांसद तामाङले पीडित किसानहरूसँग भेटघाट गरेकी हुन्। सो क्रममा उनले किसानहरूले व्यहोरेको क्षतिको विवरण संकलन गरी संघीय तथा सम्बन्धित निकायमार्फत आवश्यक राहत र क्षतिपूर्तिका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यसैबीच, सोही भेटघाटका क्रममा वर्षौंदेखि अलपत्र पर्दै आएको भीमढुङ्गा–लामिडाँडा–गल्छी सडक निर्माणलाई अब तीव्र गतिमा अगाडि बढाइने जानकारी दिइएको छ। सांसद तामाङको साथमा गोगनपानी पुगेका स्वकीय सचिव ई. दिलिप उप्रेतीले वडा अध्यक्ष विशाल लुङ्गेली मगरसहित स्थानीयबासीसँगको छलफलमा सरकारको “एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक” कार्यक्रमअन्तर्गत यो सडक क्षेत्रकै पहिलो प्राथमिकतामा परेको बताए।
सडक निर्माणको वर्तमान अवस्था स्पष्ट पार्दै उप्रेतीले मन्त्रालयले मागेका सम्पूर्ण कागजात बुझाइसकिएको र रोस्टरमा बजेट शीर्षक इन्ट्री भइसकेकाले बजेट प्राप्तिमा कुनै शंका नरहेको बताएका छन्। उनका अनुसार हाल प्रदेश सरकारको तर्फबाट १२ करोड रुपैयाँको काम भइरहेको छ भने बाँकी खण्डलाई पूर्णता दिन सांसद तामाङको विशेष पहलमा संघीय बजेट सुनिश्चित गर्न लागिएको हो।
वि.सं. २०४४ सालतिरै ट्र्याक खोल्ने अवधारणा अघि सारिएको करिब ३५–४० किलोमिटर लामो यो सडक कलङ्की–नागढुङ्गा–नौबिसे खण्डको छोटो वैकल्पिक मार्ग हो। बजेट अभावका कारण तीन दशकसम्म स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेप्दै आएका थिए। अब भने संघ र प्रदेश सरकारको प्राथमिकतामा परेसँगै यो सडकले पूर्णता पाउने विश्वास स्थानीयले लिएका छन्।