गल्छी–८ गोगनपानीमा असिनापानी क्षति: स्थलगत अनुगमन र पीडितको निवेदन संकलन एकसाथ सुरु

66 पटक पढिएको

२ मंसिर २०८३, मंगलवार १४:३४ सम्पादक: धादिङ न्यूज

गल्छी (धादिङ), १ मंसिर । गत कार्तिक २५ गते परेको असिनापानीले क्षति पुर्‍याएको धादिङको गल्छी गाउँपालिका वडा नं. ८ गोगनपानी क्षेत्रमा स्थानीय सरकार र सरोकारवाला टोलीले स्थलगत अनुगमन सुरु गरेको छ। अनुगमनसँगै पीडित किसानहरूबाट निवेदन संकलन गर्ने कार्य पनि एकसाथ अगाडि बढाइएको छ।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, ८ नम्बर वडा अध्यक्ष विशाल लुङ्गेली मगर, गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख रामप्रसाद ज्ञवाली, कृषि शाखाका देवराज जोशी, स्थानीय समाजसेवीहरू तथा धादिङ न्यूज डटकमका पत्रकार केशव अधिकारीसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो। अहिले वडा कार्यालयले पीडित कृषकहरूमार्फत निवेदन लिएर क्षतिको आधिकारिक तथ्यांक संकलन गरिरहेको छ।
असिनापानीले गल्छी–८ अन्तर्गत साविक गोगनपानी वडा नं. २ र ३ मा सबैभन्दा बढी असर पारेको छ। स्थानीय सक्षम नेपालका अनुसार प्रारम्भिक अनुमानमा यस क्षेत्रमा मात्रै करिब ५०० घरधुरी प्रभावित भएका छन् भने भित्र्याउने बेलाको करिब ५ हजार मुरी धानमा क्षति पुगेको छ।
धानबालीका साथै तोरी, कोदो, आलु तथा अन्य मौसमी तरकारी बालीमा समेत ठूलो नोक्सानी भएको छ। विशेष गरी पाडीखेत, भैँसे, धारापानी, घाङ्ग्रे, सेतेढुंगा, तगारे, बरूवालटार लगायतका खेत र फाँटमा लगाइएको बाली असिनाले नष्ट पारेको स्थानीयले बताएका छन्।