त्रिशूली किनारको ऐतिहासिक अम्लेश्वर महादेव मन्दिर र ठूलो एकादशी मेला: आस्था, संस्कृति र गल्छी-६ महेशदोभानको गौरवशाली इतिहास
22 पटक पढिएको
– केशव अधिकारी
धादिङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने गल्छी गाउँपालिका वडा नम्बर ६, महेशदोभानमा रहेको ऐतिहासिक अम्लेश्वर महादेव मन्दिर लामो समयदेखि स्थानीय जनसमुदायको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। विशेषगरी हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व हरिबोधिनी अर्थात् ठूलो एकादशीका दिन यस मन्दिर परिसरमा लाग्ने परम्परागत मेला धार्मिक आस्था, सामाजिक सद्भाव, स्थानीय व्यापार, कला, संस्कृति र ऐतिहासिक परम्पराको अनुपम संगमका रूपमा स्थापित थियो।
ठूलो एकादशीको दिन अम्लेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको महत्व केवल मन्दिरमा दर्शन तथा पूजाआजा गर्नमा मात्र सीमित थिएन। यसले धादिङ जिल्लाका विभिन्न गाउँबस्तीका मानिसहरूलाई एउटै धार्मिक तथा सांस्कृतिक सूत्रमा बाँध्ने कामसमेत गर्दै आएको थियो। जिल्लाका विभिन्न स्थानबाट भक्तजन, तीर्थालु, व्यापारी, किसान, स्थानीय बासिन्दा तथा दर्शनार्थीहरु ठूलो उत्साह र श्रद्धाका साथ महेशदोभान पुग्ने गर्दथे। यसरी वर्षेनी लाग्ने मेलाले अम्लेश्वर क्षेत्रलाई धार्मिक पर्यटन र स्थानीय सांस्कृतिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा चिनाएको थियो।
महेशदोभानस्थित अम्लेश्वर महादेव मन्दिरको ऐतिहासिक पक्ष र महिमा
धादिङको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग मानिने पृथ्वी राजमार्गसँगै जोडिएको महेशदोभान क्षेत्र केवल भौगोलिक मिलनबिन्दु मात्र होइन, यो परापूर्वकालदेखि नै आध्यात्मिक साधना रआस्थाको केन्द्र पनि हो। त्रिशूली नदी र महेश खोलाको संगमस्थल (दोभान) मा अवस्थित यस क्षेत्रमा रहेको अम्लेश्वर महादेव मन्दिरको लामो ऐतिहासिक एवं पौराणिक पृष्ठभूमि रहेको छ।
स्थानीय जनश्रुति र परम्पराअनुसार यस क्षेत्रमा ऋषिमुनिहरूले तपस्या गर्ने गरेको र जलस्वरूप भगवान शिव (महादेव) को उत्पत्ति वा स्थापना भएको विश्वास गरिन्छ। प्राकृतिक रूपले नदीको काखमा अवस्थित यस मन्दिरले यस क्षेत्रको प्राचीन सभ्यताको प्रतिनिधित्व गर्दछ। समयक्रमसँगै यस मन्दिरको जीर्णोद्धार र संरक्षण हुँदै आए तापनि यसको मौलिक धार्मिक मान्यता र सांस्कृतिक सुगन्ध कहिल्यै फेरिएको छैन। महेशदोभानको यो पवित्र भूमिमा जनैपूर्णिमा, हरितालिका तीज, ऋषिपञ्चमी, शिवरात्री, साउन महिनाको सोमबार र विशेष गरी हरिबोधिनी एकादशीका दिन धादिङ तथा छिमेकी जिल्लाहरूबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू दर्शनका लागि आउने गरेका छन्।
ठूलो एकादशीको धार्मिक महत्व र भक्तजनको घुइँचो
हिन्दू धर्मशास्त्रअनुसार हरिबोधिनी एकादशीलाई अत्यन्तै पवित्र दिनका रूपमा लिइन्छ। यस दिन भगवान् विष्णु योगनिद्राबाट जागृत हुने धार्मिक विश्वास रहेको छ। त्यसैले यस पर्वलाई हरिबोधिनी एकादशी, तुलसी विवाह तथा ठूलो एकादशीका नामले समेत चिनिन्छ।
यही पवित्र अवसरमा परिवारका सदस्य गुमाएकाहरुले मन्दिर परिसरमा मृत आत्माको सम्झनामा रातभर जाग्राम बसेर बत्ती वाल्ने गर्दछन् ।अम्लेश्वर महादेवको दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठान गर्न धादिङ मात्र नभएर छिमेकी जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरू आउने गर्दथे। बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थीहरुको भीड लाग्ने, पूजाआजा गर्ने, फूलप्रसाद चढाउने, भाकल गर्ने तथा परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गर्नेहरूको उपस्थिति उल्लेखनीय रहने गर्दथ्यो।
विशेषगरी टाढाटाढाबाट आएका वृद्धवृद्धा, महिला, पुरुष तथा बालबालिकाको सहभागिताले मेलालाई पारिवारिक र सामुदायिक उत्सवको स्वरूप प्रदान गर्दथ्यो। कतिपय मानिसहरू अघिल्लो दिन नै मेलामा पुग्ने गर्दथे भने कतिपय बिहानैदेखि पैदल यात्रा गर्दै अम्लेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने गर्दथे। यसरी ठूलो एकादशीको दिन मन्दिर वरपरको वातावरण धार्मिक उत्साह र भक्तिभावले भरिपूर्ण हुने गर्दथ्यो।
विभिन्न बाजागाजा र झाँकी प्रदर्शनले थपिने सांस्कृतिक रौनक
अम्लेश्वर महादेव मन्दिरको ठूलो एकादशी मेला धार्मिक पूजाआजामा मात्र सीमित नभई स्थानीय कला, संस्कृति र मौलिक परम्पराको प्रदर्शन गर्ने महत्वपूर्ण अवसर पनि थियो।
मेलाको अवसरमा खैंजेडी भजन, दोहोरी विभिन्न बाजागाजाको धुनसँगै झाँकी प्रदर्शन हुने गर्दथ्यो। पञ्चेबाजा, दमाहा, नरसिंहा, सनाई, ढोल, झ्याम्टा तथा अन्य परम्परागत बाजाहरूको गुञ्जनले सम्पूर्ण क्षेत्रलाई उत्सवमय बनाउँथ्यो। विभिन्न समूह तथा स्थानीय समुदायको सहभागितामा प्रस्तुत हुने धार्मिक र सांस्कृतिक झाँकीहरूले मेलाको आकर्षण अझ बढाउँथे।
बाजागाजाको तालमा नाचगान गर्दै आउने समूह, परम्परागत भेषभूषामा सजिएका सहभागी, धार्मिक झाँकी तथा स्थानीय संस्कृतिको प्रदर्शनले महेशदोभान क्षेत्रलाई एक प्रकारको सांस्कृतिक उत्सवस्थलमा परिणत गर्दथ्यो। यी गतिविधिहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परागत बाजागाजा, सामाजिक एकता र धार्मिक सम्पदाबारे परिचित गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सुन्तला बिक्रीको मेला र स्थानीय व्यापारको आकर्षण
अम्लेश्वर मन्दिरको ठूलो एकादशी मेलाको अर्को विशेष आकर्षण स्थानीय कृषि उत्पादन तथा व्यापार पनि थियो। विशेषगरी सुन्तला बिक्रीका लागि लाग्ने बजारले मेलामा छुट्टै रौनक थप्ने गर्दथ्यो।
धादिङ जिल्ला सुन्तला उत्पादनका लागि प्रख्यात जिल्ला भएकाले विभिन्न स्थानका किसान तथा व्यापारीहरूले मेलाको अवसरलाई आफ्नो उत्पादन बिक्री गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्दथे। सुन्तलाका थुप्रा, पहेँलपुर फलफूलले भरिएका पसल र किनमेल गर्ने ग्राहकहरूको भीडले मेला क्षेत्रलाई अझ आकर्षक बनाउँथ्यो। मेलामा आउने भक्तजन तथा दर्शनार्थीहरु अम्लेश्वर महादेवको दर्शन र पूजाआजा गरेपछि सुन्तला तथा अन्य स्थानीय कृषि उत्पादन किनेर घर फर्कने गर्दथे।
त्रिशूली नदीमाथि फूलको डोरी तर्ने अनुपम परम्परा
यस मेलाको सबैभन्दा विशिष्ट, रोचक र ऐतिहासिक आकर्षणमध्ये त्रिशूली नदीमाथि फूलको डोरी तरेर वारपार गर्ने परम्परा विशेष रूपमा स्मरणीय रहेको थियो।
ठूलो एकादशीको अवसरमा त्रिशूली नदीमाथि फूलमालाबाट तयार पारिएका डोरीहरू राखेर नदी वारपार गरिने गर्दथ्यो। भक्तजन तथा मेलामा सहभागी मानिसहरू ती फूलका डोरी तर्दै नदी वारपार गर्ने गर्दथे। नदीमाथि फूलको डोरी तर्ने यो परम्पराले अम्लेश्वर मेलालाई अन्य धार्मिक मेलाभन्दा फरक र विशिष्ट पहिचान दिएको थियो। यो केवल नदी वारपार गर्ने एउटा माध्यम मात्र थिएन, बरु स्थानीय समुदायको सामूहिक श्रम, धार्मिक विश्वास, सिर्जनशीलता र परम्परागत सीपको प्रतीकसमेत थियो।
प्राकृतिक विपत्तिले उजाडिएको ऐतिहासिक धार्मिक स्थल र गल्छी-६ महेशदोभान क्षेत्र
तर समय सधैँ एउटै रहँदैन। प्रकृतिका केही विनाशकारी घटनाले मानिसले पुस्तौँदेखि जोगाउँदै आएका सम्पदा र संरचनाहरूलाई क्षणभरमै तहसनहस बनाउन सक्छन्। गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोले गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित महेशदोभान क्षेत्र र अम्लेश्वर महादेव मन्दिर रहेको भूभागमा ठूलो क्षति पुर्याएको छ।
कुनै समय भक्तजनको भीडले भरिने, बाजागाजाको धुनले गुञ्जायमान हुने, सुन्तला बिक्रीको चहलपहल देखिने र फूलको डोरीले त्रिशूली नदीलाई सजाउने त्यो ऐतिहासिक क्षेत्र आज बाढीले छोडेको विनाशको पीडादायी दृश्यमा परिणत भएको छ। मन्दिरको भौतिक संरचनामा पुगेको क्षतिले स्थानीय बासिन्दाहरूको आस्था र ऐतिहासिक सम्झनाहरूमा समेत गहिरो चोट पुगेको छ।
अम्लेश्वर महादेव मन्दिरको पुनःस्थापना र ऐतिहासिक परम्पराको संरक्षण आवश्यक
प्राकृतिक विपत्तिले भौतिक संरचना नष्ट गरे पनि मानिसको आस्था, विश्वास र संस्कृतिलाई पूर्ण रूपमा समाप्त गर्न सक्दैन। त्यसैले अम्लेश्वर महादेव मन्दिरको पुनर्निर्माण तथा यससँग जोडिएका ऐतिहासिक परम्पराहरूको संरक्षण गर्नु आजको ट्टकारो आवश्यकता हो।
यस पवित्र धार्मिक स्थलको संरक्षण, पुनःस्थापना तथा व्यवस्थित पुनर्निर्माणका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, सम्बन्धित सरकारी निकाय, धार्मिक संघसंस्था, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूले साझा पहल गर्न आवश्यक छ। मन्दिरको पुनर्निर्माण गर्दा धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै सुरक्षित स्थान र उपयुक्त संरचनाको व्यवस्था गरिनुपर्छ। साथै, ठूलो एकादशी मेलाको ऐतिहासिक पहिचान जोगाउन, सुन्तलाको परम्परागत बजार फर्काउन र त्रिशूली नदीमाथिको सांस्कृतिक परम्परालाई सुरक्षित ढङ्गले पुनर्जीवित गर्न सबै पक्ष एकजुट हुनुपर्छ।







