आज हरिबोधनी एकादशी, यस्तो छ लक्ष्मी, नारायण र वृन्दाको पौराणिक कथा

19 पटक पढिएको

५ मंसिर २०८३, शुक्रबार ०७:३१ सम्पादक: धादिङ न्यूज

धादिङबेसी । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीर सागरमा योगनिद्रामा रहनुभएका भगवान् विष्णु आजकै दिन जाग्नुहुन्छ भन्ने धार्मिक तथा पौराणिक विश्वास रहेको छ ।
हरिबोधनी एकादशीका अवसरमा धादिङको गल्छी ६ महेशदोभानको अम्लेश्वर महादेव, गंगाजमुनाको गंगाजमुना माई, महादेवस्थान ताल्तीको गौरीशंकर महादेवस्थानका साथै  सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठसँगै काठमाडौँ उपत्यकाका चार नारायण—चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेष नारायण मन्दिरमा विशेष मेला लाग्ने तथा भक्तजनको भीड लाग्ने प्रचलन छ ।
भगवान् विष्णु योगनिद्रामा रहनुहुने चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका माङ्गलिक कार्य गर्न नहुने शास्त्रीय मान्यता छ । आज शुक्रबार हरिबोधनी एकादशीपछि भने शुभ तथा माङ्गलिक कार्यका लागि साइत र मुहूर्त खुल्ने धार्मिक विश्वास छ ।
विवाहादि शुभ कार्यको शुभारम्भमा भगवान् विष्णुलाई साक्षी राखेर सङ्कल्प गर्ने चलन छ । पद्मपुराणको उत्तरखण्डअनुसार यस दिन विधिपूर्वक व्रत बस्दा एक हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरेबराबरको पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
हरिशयनी एकादशीका दिन रोपिएको औषधीय गुणयुक्त तुलसीको मठलाई गोबर र रातोमाटोले लिपपोत गरी नयाँ वस्त्र, धजा र फूलमालाले सिँगारेर आज तुलसीको विवाह गरिन्छ । भोलिपल्ट द्वादशीका दिन विशेष पूजाअर्चना गरी चतुर्मासभरि पुजिएका तुलसीको विसर्जन गर्ने परम्परा रहेको छ ।
व्रतालुले बिहानै स्नान गरी सङ्कल्प लिने, भगवान् विष्णुलाई जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने तथा ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्ने गर्छन् । दिनभर निराहार वा फलाहार व्रत बसी पिँडालु, सक्खरखण्ड तथा कन्दमूल ग्रहण गर्ने र राति जाग्राम बसी भजनकीर्तन गर्ने चलन छ ।
यसैगरी, दिवङ्गत पितृहरूको सम्झना र सद्गतिका लागि नदी वा खोलामा फूल तथा बत्ती तारेर पुण्य समर्पण गर्ने प्रचलन पनि छ । यसो गर्दा पितृ प्रसन्न भई परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।
पौराणिक कथनअनुसार एकपटक माता लक्ष्मीले भगवान् नारायणलाई वर्षमा केही समय आराम तथा निद्रा लिन आग्रह गरेपछि हरेक वर्ष चार महिना योगनिद्रामा शयन गर्ने परम्परा सुरु भएको मानिन्छ । चार महिनाको योगनिद्राबाट भगवान् विष्णुलाई जगाउन बिहान घण्टा, शङ्ख र मृदङ्ग बजाउँदै विभिन्न स्तोत्र तथा श्लोक उच्चारण गर्ने चलन छ ।
यस पर्वसँग वृन्दाको पौराणिक प्रसंग पनि जोडिएको छ । राक्षसराज जालन्धरकी पत्नी वृन्दाको पतिव्रता धर्म भङ्ग भएपछि उनले आक्रोशित भई भगवान् विष्णुलाई श्राप दिँदा विष्णु शालिग्राम शिलामा परिणत हुनुभएको कथा पाइन्छ । पछि भगवान् विष्णुले वृन्दालाई गण्डकी नदी र तुलसीका रूपमा सदा पूजित रहने वरदान दिनुभएको थियो । यही पौराणिक मान्यताका आधारमा कार्तिक शुक्ल एकादशीका दिन शालिग्राम र तुलसीको विवाह गराउँदा कन्यादान गरेसरहको पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।