तिकराङमा पहिरोको जोखिम, पृथ्वीराजमार्गको जोगिमारा खण्डमा सावधानी

924 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

tikraang pahiro 1 - Copyतिकराङ – सिमेन्ट उत्पादनका लागि चाहिने ढुङगा उत्खनन गर्न वनार्ईएको खानी क्षेत्रको जमिन भासिएपछि धादिङको जोगिमारा गाविसको वडा नम्बर १ तिकराङमा पहिरोखसेर राजमार्ग बन्द हुने जोखिम बढेको छ । पृथ्वीराजमार्ग भन्दा माथि रहेको उक्त खानी क्षेत्रमा भुक्षय रोक्न लगाईएको १५ वटा भन्दा बढी तारजालीले एक साथ जमिन छाडेर ३ मिटर तल लत्रिएपछि खानी क्षेत्रवाट ठुलो पहिरो सडकमा खस्ने जोखिम बढेको जोगिमारा प्रहरीले जनाएको छ । पृथ्वीराजमार्गवाट जोगिमारा गाविसको ग्रामीण बस्ती तर्फ जाने सडक र खानीवाट निकालिएको ढुङगा ढुवानीका लागि चल्ने सवारी साधन आवत जावत गर्न वनाईएको सडकमा समेत पहिरोको जोखिम बढेको प्रहरीले वताएको छ ।
सडक भन्दा ५ सय मिटर माथि ठाडो भिरमा पहिरोको जोखिम बढेपछि प्रहरीले धादिङको गजुरी र चितवनको मुग्लिनमा रहेको प्रहरी कार्यालय मार्फत सवारी साधनलाई सावधानी अपनाएर मात्र जोगिमाराको तिकराङ क्षेत्रमा पर्ने पृथ्वीराजमार्ग पार गर्न सचेत गराउन थालेको जोगिमारा प्रहरी चौकीका इन्चार्ज वालकृष्ण भट्टराईले जानकारी दिनु भयो ।
पहिरो खस्ने जोखिम बढेपछि प्रहरीले तिकराङ क्षेत्रको स्थलगत अवलोकन गरी आसपासका बस्तीमा सचेत रहन निर्देशन दिईसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो । ढुङगाखानी रहेको क्षेत्रमा नजिकै मानव वस्ति नरहेपनि चौविसै घण्टा सवारी आवागमन भईरहने पृथ्वीराजमार्ग भन्दा माथि उक्त जोखिम देखिएपछि राजमार्गमा गुडिरहेका सवारी साधनलाई सावधानी अपनाउन आग्रह गरिएको मल्लले जानकारी दिनु भयो । केही बर्ष अघि सम्म ३५ घर परिवार चेपाङहरुको वसोवास रहेको तिकराङमा सिमेन्ट उत्पादनका लागि उपयुक्त ढुङगा भेटिएपछि हेटौंडा सिमेन्ट उद्योग तथा अन्य निजी क्षेत्रका सिमेन्ट उद्योगहरुले जमिन खरिद गरेपछि बस्ती अन्यत्र सरेको हो ।