सुकुम्बासी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा जानुका सिंखडा

947 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

janukaa simkhdaaधादिङ– सरकारले सुकुम्बासी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा जानुका सिंखडालाई मनोनयन गरेको छ । देशभरि रहेका सुकुम्बासीहरुको पहिचान गरि उनीहरुको उचित व्यवस्थापनका लागि ७५वटै जिल्लामा आयोगको गठन गरिएको छ । केहिदिन अघि मन्त्रिपरिषदको निर्णयले देशैभरि आयोगको गठन गर्ने निर्णय गरे अनुसार धादिङको अध्यक्षमा सिंखडा र सदस्यहरुमा वेद बहादुर खाँड (नीलकण्ठ) र शंकर तामाङ (थाक्रे) लाई मनोनयन गरेको हो । पाँच सदस्यीय जिल्ला आयोगको अन्य दुई सदस्य भने मनोनयन हुन बाँकी रहेको बताइएको छ ।
आयोगको अध्यक्षमा मनोनयन हुनुभएकी सिंखडा दुई दशक अघिदेखि नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर राजनितिमा सक्रिय हुनुहुन्छ । पछिल्लो समय अखिल नेपाल महिला संघ केन्द्रिय समितिको सचिवालय सदस्य र नेकपा एमाले वाग्मती अञ्चल कमिटीको सदस्यमा उहाँ क्रियाशिल हुनुहुन्छ । सादा जिवनशैली मनपराउनु हुने सिम्खडा धादिङमा अगुवा महिला राजनैतिक कार्यकर्ताको रुपमा चिनिनु हुन्छ ।
सरकारले सुकुम्बासी समस्या समाधानका लागि आयोग मार्फत वास्तविक सुकुम्बासीहरुको पहिचान, उनीहरुले भोग्नुपरेको समस्या र व्यवस्थापनका लागि गरिनुपर्ने कदमहरुको बारेमा खोजी गरि निकास दिन आयोगलाई निर्देशन दिएको छ । आयोगको कार्यअवधि २वर्षको हुनेछ भने जिल्लामा आयोगको कार्यालय समेत स्थापना गरिने छ । सरकारको निर्णयअनुसार आयोगको जिल्ला अध्यक्षले नेपाल सरकारका प्रथम श्रेणी अर्थात सह–सचिव सरहको सेवा सुविधा पाउनेछन् भने सदस्यहरुले शाखा अधिकृत सरहको सेवा सुविधा पाउनेछन् ।
आयोगको जिल्ला अध्यक्ष सिंखडाले छिट्टै नै जिल्ला कार्यालयको व्यवस्थापन गरी सबै सरोकारवाला पक्षहरुसँग समन्वय गरि सुकुम्बासीहरुको पहिचान र समस्या समाधानका लागि आफू प्रतिबद्ध रहने बताउनुभएको छ ।