आसय करणी मुद्दामा कैद, जरिवाना र क्षतिपूर्तिको फैसला

723 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


धादिङ –आसय करणीको मुद्दामा जिल्ला अदालत धादिङले भदौ २९ गते एक युवकलाई कैद, जरिवाना र क्षतिपूर्तिको फैसला सुनाएको छ । करणीको आसयले एक जना महिलाको घरभित्र पसेका कुम्पुर गाविस-७ का ३५ वर्षीय सानुवावु भन्ने छत्र पुरी विरुद्धको मुद्दामा जिल्ला अदालतले सो फैसला सुनाएको हो ।

जिल्ला अदालत धादिङका न्यायाधीश रमेशराज पोखरेलको इजलासले पुरीलाई एक महिना कैद, एक हजार रुपियाँ जरिवाना र पीडितलाई पाँच हजार रुपियाँ क्षतिपूर्ति तिर्ने फैसला गरेको हो । फैसला मुलुकी ऐन आशय करणीको महल १ बमोजिम रहेको जिल्ला अदालत धादिङका निमित्त श्रेस्तेदार नारायण रिजालले जानकारी दिए ।

स्थानीय ३० वर्षीया एक महिलालाई पुरीले ०७० चैत १६ गते राती उनको कुखुरा फारममा सुतेको ठाउँमा गई करणीको आशय राखेका थिए । पुरीविरुद्ध पीडित महिलाले चैत २१ गते जिल्ला अदालतमा आशय करणीको मुद्दा दर्ता गराएको निमित्त स्रेस्तेदार रिजालले बताए । सोही मुद्दामा पुरीलाई कारबाहीको फैसला भएको हो ।

अदालतको फैसला सुन्न बसेका पुरी अदालतको फैसला लगत्तै फरार भएका छन् । सो मुद्दामा पीडित महिलाका तर्फबाट अधिवक्ता टंककुमार श्रेष्ठ र पुरीका तर्फबाट अधिवक्ता विश्वराज अधिकारले बहस गरेका थिए । यस किसिमको फैसला जिल्लामा पहिलो पटक भएको अधिवक्ता श्रेष्ठले बताए ।
इन्सेक अनलाईनवाट