इन्चोनमा नेपालका लागि पदक दिलाउन सफल विमलालाई गृह जिल्लामा सम्मान

1005 पटक पढिएको

२३ आश्विन २०७१, बिहीबार १७:५१ सम्पादक: धादिङ न्यूज

SAM_5275धादिङ,२३ असोज ः केही दिन देखि टेलिभिजनको पर्दा , पत्र पत्रिका,सामाजिक सन्जाल र अनलाईनहरुमा एकछत्र रुपमा छाउंदै आएकी विमला तामाङलाई आफ्नै हातले फुलमाला लगाएर सम्मान गर्न पाउंदा धादिङबासी खुसीले रमाएका छन । हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न भएको सत्रौं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपालका लागि एक मात्र पदक दिलाउन सफल करांते खेलाडी धादिङकी चेली विमला तामाङलाई गृहजिल्ला धादिङमा नागरिकहरुको तर्फवाट सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ र नागरिक समाजको तर्फवाट विमलालाई बुधवार धादिङबेसीमा सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ धादिङको अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष छत्कुलीले  विमलालाई नगद ११ हजार १ सय ११ र दोसल्ला ओढाएर सम्मान पत्र दिएर सम्मान गर्नुभएको थियो। सोही अवसरमा धादिङ यातायात व्यवसायी संघले ७ हजार नगद प्रदान गरेको थियो । व्यवसायी संघका अध्यक्ष अर्जुन गोर्खालीले तामाङलाई नगद दिएका थिए ।
सम्मान प्रदान गरिनु अघि धादिङका युवाहरुको पहलमा सदरमुकाम धादिङबेसीको पुछारवजारवाट शुरु भएको मोटरसाईकल र्यालीले वजार परिक्रमा गरेको थियोे । कार्यक्रममा विमलालाई करांते प्रशिक्षण दिई दक्षिण कोरिया सम्म पुर्याउन सहयोग गर्ने करांते प्रशिक्षक ध्रुवबिक्रम मल्ललाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा वोल्दै प्रशिक्षक मल्लले राज्यले २ करोड भन्दा बढी लगानी गरेर कोरिया पुर्याएका खेलाडीले देशलाई निराश वनाउनुका साथै उतै भागेर देशकै वदनाम गराएपनि राज्यको एक रुपैया लगानी नभएको खेलाडी विमलाले देशलाई पदक विहिन हुनवाट जोगाएको बताउनु भयो । राष्ट्रिय खेलकुद परिषद राजनैतिक चलखेल केन्द्र भएका कारण राम्रा भन्दा हाम्रा खेलाडीले राज्यको लगानीमा कोरिया जानेअवसर पाएपनि प्रतिफल निराशाजनक आएको प्रशिक्षक मल्लको भनाई थियो ।
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेका साथै नेपाली कांग्रेसका सचिव भक्त लामा, नेकपा एमालेका अर्जुन गोर्खाली,एकीकृत नेकपा माओवादीका रामवहादुर भण्डारी,राप्रपाका नन्दप्रसाद काप्री,नेकपा एकीकृतका शिवनिधि खनाल,नेकपा माओवादीका रामवहादुर श्रेष्ठ र जिल्ला खेलकुल विकास समितिका अध्यक्ष मनराज भण्डारी र पुर्व अध्यक्ष अर्जुन श्रेष्ठ,स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले शुभकामना मन्तव्य राख्दै विमलालाई सम्मान गरेका थिए ।
धादिङको सेमजोङ गाविस वडा नम्बर २ मा जन्मिएकी विमलाको सफलतावाट विश्वमा नेपालको नाम रहेको भन्दै स्थानीयवासीले समेत विमलालाई सम्मान गरेका थिए । धादिङ जिल्लालाई संसार भर चिनाउन खेलकुदको माध्यमवाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला विकास समिति धादिङले नगद ५० हजार सहित विमलालाई सम्मान गर्ने घोषणा गरेको छ । स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले उक्त घोषणा गर्नु भएको हो ।SAM_5251 SAM_5253 SAM_5264 SAM_5280