यस्तो पनि हुंदो रैछ ,शौचालय नै नभएको गाउँ
673 पटक पढिएको
भीमदत्तनगर, २६ असोज । पुरै गाउँका मानिसहरु शौचालय प्रयोग गर्दैनन् भन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । तर कञ्चनपुरको पर्सिया गाउँका वासिन्दाले शौचालय नै प्रयोग नगरेको ४०औं वर्ष बितिसकेको छ ।
कञ्चनपुरको शङ्करपुर गाविस–९ र देखतभुली–२ मिलेर बनेको छ, पर्सिया गाउँ । १३० परिवार राना समुदायको मात्रै बसोबास रहेको पर्सिया गाउँमा सिमित परिवार मात्रै शौचालयको प्रयोग गर्छन् । बाँकी सबै नजिकैको नाला, जङ्गल र खेतवारीमै शौच गर्न जान्छन् ।
वि.स.२०१३ सालभन्दा पहिले थारु बस्ती बसेको पर्सियामा केही समययता मात्रै स्थानीय ८÷१० परिवारले शौचालय बनाएका छन् । बालबालिकादेखि पाका पुस्ताहरुको शौचालय भनेको नजिकको खोला, नाला, खेतबारी र जङ्गल हो ।
“दिसापिसाब शौचालयमा गर्नुपर्छ भन्ने मान्यता नै छैन”–स्थानीय समाजसेवी सालु रानाले भन्नुभयो, “धेरै सङ्घ, संस्थाले पनि शौचालय बनाउन आग्रह गरे पनि घर–घरमा शौचालय बनाउनु पर्छ भन्नेतर्फ कसैको ध्यान गएको छेैन ।”
“गाउँले सबैले घरमा शौचालय बनाए पो मैले नी बनाउनु”–४० वर्षदेखि पर्सियामा बस्दै आएका स्थानीय रामकृष्ण रानाले भन्नुभयो, “शौचालय बनाउनुपर्छ भन्ने सोच हामीहरुमा कहिल्यै पनि आएन ।”
केही समययता गाउँका केही स्थानीयले गोबर ग्यास बनाएसँगै शौचालय बनाएको गाउँलेहरुको भनाइ छ । स्थानीय तुलसी रानाले भन्नुभयो, “१० जनाको घरमा शौचालय छ, जसमध्ये आठ परिवारले मात्रै प्रयोगमा ल्याएका छन् ।”