डराई डराई झोलुँगे पुल तर्नुपर्ने बाध्यता

638 पटक पढिएको

सम्पादक: Dhading News

 केशव अधिकारी

धादिङ, पुस ४ : धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सातवटा गाविस प्रवेश गर्ने एक मात्र नाकाको रुपमा रहेको किन्ताङफेदीको झोलुङ्गे पुल वर्षौंदेखि जीर्ण छ । दार्खा र मार्पाक गाविसको सिमानामा भएर बगेको किन्ताङखोला वारपार गर्नका लागि किन्ताङफेदीमा निर्माण गरिएको  झोलुङ्गे पुल  जिर्ण बन्दै गएको हो ।

पुलको मार्पाक गाविसतर्फको भागमा रहेको स्टिल पाताहरु उप्किएको छ भने छेउका तारवार समेत भाँचिएको अवस्थामा रहेको छ । पुलमा प्रवेश गर्नासाथ देखिने डरलाग्दो दृष्यले जो कोहीलाई पनि त्रसित पार्ने गरेको स्थानीयबासिन्दा बताउँछन् । दिनहुँ सयौं मान्छेहरु ओहोरदोहोर गरिरहने पुल जीर्ण भएर यात्रा जोखिमपूर्ण बनेपनि बिग्रिएको पुल मर्मतका लागि कुनै पनि निकायले चासो नदेखाएको स्थानीयबासिन्दाको भनाई छ ।

दुई दशक भन्दा अघिदेखि सञ्चालनमा रहेको किन्ताङफेदीको पुल भएर पैदलयात्रा गरेर जानुपर्ने जिल्लाको तिप्लिङ, सेर्तुङ, लापा, रिगाउं, झार्लाङ, सत्यदेवी र दार्खा गाविसका वासिन्दा तथा अरु कामले गाउँ जानुपर्नेहरु यहि पुल भएर हिँड्न वाध्य छन् । हिउंदमा  दाार्खा गाविसको घ्यान्साङसम्म मोटर चलेपनि बर्षाको बेला यहि पुल तरेर पैदल यात्रा गर्नुको अरु कुनै बिकल्प नरहेको सत्यदेवीका कुमार विश्वकर्मा बताउनुहुन्छ ।

dhading bridgeघ्यान्साङसम्म मोटर चलेपनि ३७ किलोमिटर सडकमा यात्रा गरेवापत प्रतिव्यक्ति ४ सय ८० रुपैया मोटर भाडा तिर्नुपर्ने भएपछि सामान्य आर्थिक अवस्था भएकाहरु पैदल यात्रा गर्ने गर्छन् । यातायात व्यवसायीहरुले मनोमानी ढंगले मोटर भाडा लिने गरेपनि स्थानीय प्रशासन र अन्य निकायले भाडाका बिषयमा कुनै चासो नदिने गरेको स्थानीयबासिन्दाको गुनासो छ ।

त्यसो त धादिङबेसी घ्यान्साङ मोटर संचालन गर्दै आईरहेको संयुक्त यातायात समिति अहिलेसम्म कुनै निकायमा दर्ता समेत भएको छैन । धादिङ जिल्लामा यातायात संचालन गरिरहेको धादिङ यातायात व्यवसायी संघ, धादिङ माईक्रोवस व्यवसायी संघ र ग्रामीण यातायात सहकारी संस्थाको साझा संस्थाका रुपमा संयुक्त यातायात संचालनमा ल्याईएको हो ।

जीर्ण बन्दै गएको पुल मर्मतका लागि जिल्ला विकास समितिदेखि अरु सरकारी निकायलाई पटक पटक आग्रह गरेपनि मर्मतका लागि कतैबाट सहयोग र चासो नदेखाईएकाले पुलमा डराई डराई यात्रा गर्नुपर्ने वाध्यता रहेको स्थानीयबासिन्दा बताउँछन् ।

डराई डराई झोलुँगे पुल तर्नुपर्ने बाध्यता

डराई डराई झोलुँगे पुल तर्नुपर्ने बाध्यता

डराई डराई झोलुँगे पुल तर्नुपर्ने बाध्यता

डराई डराई झोलुँगे पुल तर्नुपर्ने बाध्यता

-उज्यालोअनलाईनबाट