६ वर्ष बढि बाँच्न थाले मान्छे, औषत आयु सुधार्नेमा नेपाल अग्रस्थानमा

519 पटक पढिएको

सम्पादक: Dhading News

अघिल्लो पुस्ता भन्दा अहिलेको पुस्ताका मानिसहरु औषतमा ६ वर्ष बढि बाँच्न थालेको एक अध्ययनले देखाएको छ ।
ग्लोबल बर्डन अफ डिजिज नामक विश्वव्यापी अध्ययनअनुसार पछिल्लो एक पुस्तामा विश्वका मानिसहरुको औषत आयुमा झण्डै ६ वर्षले वृद्धि भएको छ ।

अध्ययन अनुसार सन् १९९० देखि अहिलेसम्म पुरुषहरुको आयुमा ५.८ वर्षले वृद्धि भएको छ भने महिलाहरुले थप ६.६ वर्ष आयु प्राप्त गरेका छन् ।
यो अवधिमा विश्वका उच्च आययुक्त क्षेत्रहरुमा क्यान्सरबाट हुने मृत्युमा १५ प्रतिशतले कमी आएको छ । त्यस्तै मुटुरोगबाट हुने मृत्युमा २२ प्रतिशतले कमी आएको छ । यसले गर्दा ती क्षेत्रहरुको औषत आयुमा उल्लेखनीय सुधार भएको बताइएको छ ।

त्यस्तै न्युन आययुक्त देशहरुमा समेत झाडापखाला, श्वासप्रस्वास सम्बन्धि रोग तथा नवजात शिशु तथा सुत्केरीको मृत्युमा उल्लेखनीय सुधार आएको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार विश्वभरमै औषत आयुमा वृद्धि भैरहेको भएपनि एउटा अपवाद रहेको छ । सब सहारा तथा अफ्रिकन क्षेत्रमा एच आइ भी का कारण हुने मृत्युले औषत आयुमा ५ वर्षले कमी आएको छ ।

सन् २००५ मा सबैभन्दा उच्च विन्दुमा पुगेपछि एचआइभी एड्सबाट हुने विश्वव्यापी मृत्युमा उल्लेखनीय रुपमा कमी आइरहेको भएपनि सब सहारा क्षेत्रका ४८ मध्ये २० वटा देशमा अहिलेपनि एड्स अकाल मृत्युको मुख्य कारणको रुपमा रहेको अध्ययनले देखाएको छ ।

मानिसको अकाल मृत्युका मुख्य कारण के के हुन् ?

अध्ययन अनुसार सन् १९९० र अहिलेको अवस्थामा मानव मृत्युका मुख्य कारणहरुमा खासै परिवर्तन भएको छैन । सन् १९९० का टपटेन मृत्युका कारणमध्ये नौ वटा उनै छन् । एच आइ भी एड्स टपटेनमा पर्न सफल भएको छ भने क्षयरोग टपटेनको सूचीबाट बाहिरिँदै ११ औँ नम्बरमा परेको छ । सन् १९९० देखि एच आइ भी एड्सका कारण मावन जीवनको आयु वर्षमा भएको क्षति ३ सय ४४ प्रतिशतले बढेको छ । लागूऔषध, मृगौला रोग तथा अल्जाइमरका कारण ज्यान गुमाउनेको संख्या पनि बढेको पाइएको छ । विश्वमा मानवको अकाल मृत्युका मुख्य दश कारण यी हुन्ः
१. मुटु सम्बन्धि रोग
२ श्वासप्रस्वास जन्य संक्रमण
३. मस्तिष्कजन्य रोग
४. झाडापखाला जन्य रोग
५. सडक दुर्घटना
६. एच आइभी एड्स
७. समय नपुगि हुने जन्म
८. मलेरिया
९. जन्मजात रोग तथा स्वास्थ्य समस्या
१०. नियोन्याटल इन्सेफ्यालोप्याथी अर्थात् नवजात शिशुमा हुने स्नायु सम्बन्धि समस्या

दी ल्यासेन्ट मेडिकल जर्नलमा छापिएको शोध अनुसार विश्वमा औषत आयुमा उल्लेखनीय वृद्धि हुने न्यून आय भएको क्षेत्रमा नेपाल, रुवान्डा, इथिओपिया, नाइजर तथा माल्दिभ्स लगायतका रहेका छन् । जहाँ पछिल्लो दुई दशकमा औषत आयुमा झण्डै १२ वर्षले वृद्धि भएको छ ।
अध्ययन अनुसार विश्वमा आत्महत्याबाट हुने मानव मृत्युमध्ये आधाजसो भारत तथा चीनमा हुने गरेका छन् ।