एयर एसियाको विमान समुद्रमा, ४० शव भेटियो

471 पटक पढिएको

सम्पादक: Dhading News

इन्डोनेसिया- इन्डोनेसिया नजिकै जलक्षेत्रमा भग्नावशेष तथा दर्जनौँ मानव शरीर देखापरेपछि एयर एसियाको हराएको विमान खोजी कार्य मङ्गलबार अन्त्य भएको देखिएको छ । यसले हाल उक्त विमानका १६२ यात्रुका सुकसुकाएका नातेदारबीच नयाँ भावनात्मक अवस्था देखिएको छ ।
death body in seaएयरबस ए३२०–२०० को उक्त विमान इन्डोनेसियाको दोस्रो ठूलो नगर सुराबायाबाट सिङ्गापुर गइरहेको समयमा आइतबार आँधीमा हराएको थियो । हालका सङ्केतहरू सबैले उक्त विमान बोर्नियो द्वीपको दक्षिणपश्चिमी जाभा जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको देखाएका छन् । हालसम्म दर्जनौँ शरीर र भग्नावशेष फेला परेका छन् ।
एक वायुसेनाको विमानले समुद्रको पिँधमा हराएको भनिएको उडान क्युजेड८५०१ को विमान देखेको राष्ट्रिय खोज तथा उद्धार संस्थाका प्रमुख बामबाङ सोलिस्त्योले जकार्तामा एक पत्रकार सम्मेलनमा बताए ।
सुराबायामा सोलिस्त्योको प्रेस समेलनमा एक टेलिभिजन चित्रमा समुद्रमा एक शरीर तैरिरहेको देखेपछि हराएका १६२ यात्रुका नातेदारले एकापसमा अङ्गालो बाँधी रोएका थिए ।
इन्डोनेसियाको एक युद्धकजहाजले समुद्रबाट ४० भन्दा बढी शव फेला पारेको र यसरी फेला परेका शरीरको सङ्ख्या बढिरहेको जानकारी नौसेनाका प्रवक्ता मानाहान सिमोराङकिरले दिए ।
एयरएसियाका प्रमुख कार्यकारी अधिकारी टोनी फर्नान्डेसले उनको क्षेत्रीय सबैभन्दा ठूलो आर्थिक विमानसेवाको पहिलो घातक दुर्घटनामा दुःख व्यक्त गरे । विमानको भग्नावेशष फेला परेको समाचारपछि यात्रु जीवितै रहने आशा उनीहरूको नातेदारमा गुमेको थियो ।
बोर्नियो द्वीपको केन्द्रीय कालिमान्तानमा रहेको पाङकालान बनबाट १६० किलोमिटर दक्षिणपश्चिमी भागमा ती भग्नावशेष फेला परेका थिए र हाल सबै प्रयास त्यहीँ केन्द्रित भएको जानकारी सोलिस्त्योले दिए ।
पाङकालान बन नजिकै एक हवाईमैदान रहेको छ र विमान अन्तिमपटक सोही स्थानमा रहेको अनुमान गरिएको थियो । राष्ट्रपति जोको विडोडो केही समयमै पाङकालान बन पुग्नुहुने र त्यसपछि मृतक यात्रुका नातेदारलाई भेट्न सुराबाया पुग्ने अपेक्षा अधिकारीहरूले गरेका छन् ।
सोलिस्त्योले सोमबार उक्त विमान अनुमान गरिएको स्थानमा समुद्रको पिँधमा रहेको जानकारी दिएका थिए र इन्डोनेसियाली अधिकारीहरूले यात्रुका नातेदारहरूलाई सबैभन्दा नराम्रो अवस्थाका लागि तयारी गरिरहेका थिए ।
प्रस्थानको ४० मिनेटपछि आँधीयुक्त मौसमको समयमा उक्त विमानका चालकदलले उडान योजना परिवर्तन गर्न अनुरोध गरेपछि उक्त विमानसँगको सम्पर्क टुटेको थियो । यो मलेसियाली विमानसेवाका लागि तेस्रो सङ्कट हो ।
विमान प्रस्थान गर्नुपूर्व चालकले आँधी पन्छाउन माथिल्लो सतहबाट उड्न अनुमति मागेका थिए तर उक्त मार्गमा धेरै यातायात भएकाले उनको अनुरोध अस्वीकार गरिएको इन्डोनेसियाको उडान सञ्चालन सेवा एयरनाभले जानकारी दिएको छ ।
अन्तिम सञ्चारमा विमानचालकले आफ्नो मार्ग परिवर्तन गर्न तथा माथिल्लो तहमा जान दिन अनुमति मागेका थिए । हवाई यातायात नियन्त्रकले उनलाई देब्रेतर्फ जान अनुमति दिएका थिए तर ३२ हजार फिटको उचाइबाट ३८ हजार फिटको उचाइमा जान अनुमति नदिइएको बताइएको छ । उक्त समयमा ३८ हजार फिटको उचाइमा अन्य विमान उडिरहेको जानकारी दिइएको छ ।
यसको दुईदेखि तीन मिनेटमा उक्त विमानलाई ३४ हजार फिटको उचाइमा जान अनुमति दिन खोजिएकोमा विमानले प्रतिक्रिया नदिएको बताइएको छ । अस्ट्रेलिया, सिङ्गापुर, मलेसियाले सामुद्रिक खोज विमान तथा युद्धक विमान सहयोगका लागि पठाएका छन् । इन्डोनेसियाले विमान, जहाज तथा बीसौँ माछामार्ने डुङ्गा उक्त विमान खोज्न पठाएको छ ।
यो विमान मलेसियामा केन्द्रीय कार्यालय रहेको एयरएसियाको इन्डोनेसियाली शाखा एयरएसिया इन्डोनेसियाले सञ्चालन गरेको थियो । एयरएसियाले दक्षिणपूर्वी एसियामा न्यून लागतको हवाई यातायात सेवा उपलब्ध गराइरहेको छ र हालसम्म यसले यस्तो घातक दुर्घटना ब्यहोरेको थिएन । उक्त विमानका प्रायः यात्रु इन्डोनेसियाली नागरिक थिए ।
यो वर्ष मलेसियाली हवाई यातायातका लागि दुर्घटनायुक्त वर्ष भयो । मार्च महिनामा क्वाला लम्पुरबाट बेइजिङतर्फ उडेको उडान एमएच३७० को विमान २३९ यात्रुसहित हराएको थियो भने जुलाई महिनामा मलेसिया एयरलाइन्सको उडान एमएच१७ को विमान युक्रेनमा क्षेप्यास्त्रबाट खसाइएको थियो र त्यसमा रहेका २९८ यात्रुको मृत्युभएको थियो ।

-एएफपीबाट