कम्बल पाएपछि चेपाङले भने–‘न्यानोसँग सुत्न पाइने भो’

1003 पटक पढिएको

२० पुष २०७१, आईतवार ०७:०३ सम्पादक: धादिङ न्यूज

एकै दिन हजार ५० कम्बल वितरण

kk-1024x756गोरखा/ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गृहजिल्ला गोरखाका चेपाङहरुलाई ५ सय ५० थान कम्बल बाँडेका छन । नयाँ पत्रिकाले सञ्चालन गरेको ‘न्यानो बाँडौँ’ अभियान अन्र्तगत उनले शुक्रबार मकैसिङ बुटारमा भएको कार्यक्रममा कम्बल वितरण गरेका हुन ।

कम्बल वितरण कार्यक्रममा पाँच गाविसका चेपाङ समुदायका ब्यक्ति उपस्थित थिए । ‘न्यानो बाँडौँ’ अभियानलाई यसअघि २ सय थान कम्बल सहयोग गरेका भट्टराईले थप ५ सय कम्बल सहयोग गर्ने बताएका छन ।

नयाँ पत्रिका तथा अन्य पत्रपत्रिकामा लेख प्रकाशित गरी त्यसको पारिश्रमिकबाट आफूले कम्बल बाँडेको भट्टराईले बताए । ‘नयाँ पत्रिका दैनिकले न्यानो बाँड्ने अवधारणा सुरु गर्‍यो,’ उनले भने, ‘हामीले त्यो सामाजिक अवधारणालाई साथ दियौँ ।’

भट्टराईले भुम्लिचोकको तोमनडाँडामा रहेको विद्यालयलाई आवासीय बनाउने तयारी भइरहेको पनि बताए । ‘चेपाङ बालबालिका पढ्ने तोमनडाँडाको विद्यालयलाई आवासीय बनाउन पहल भइरहेको छ,’ उनले भने, ‘मैले चिनियाँ राजदूतसँग छलफल गरिसकेको छु, अब एक–दुई दिनमै निर्णय हुन्छ ।’

कम्बल पाएपछि ताङलीचोककी पुतली चेपाङले भनिन्–‘जाडोले रातभरि निद्रै नलाग्ने नि, आजबाट त नयाँ कम्बल ओढेर न्यानोसँग सुत्न पाइने भयो ।’ भुम्लिचोककी कुमारी चेपाङले खुसी ब्यक्त गरिन । ‘गुन्द्री त आफँै बुन्छौँ, त्यसैमा सुतिन्थ्यो,अब कम्बलले न्यानो हुने भयो’, उनले भनिन् ।