वीर, टिचिङ र प्रसूतिगृहका बिरामी खानामा जीवाणु

459 पटक पढिएको

सम्पादक: Dhading News

तीनै अस्पतालविरुद्ध खाद्य विभागले मुद्दा हाल्ने 
hospital_sickness_456934283काठमाडौं : देशकै तीन ठूला अस्पताल वीर, त्रिवि शिक्षण (टिचिङ) र प्रसूतिगृहले बिरामीलाई नि:शुल्क खुवाउने खानामा जीवाणु भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले संयुक्त रूपमा सरकारी अस्पतालको चमेनागृहमा गरेको अनुगमनमा वीर, टिचिङ र थापाथलीस्थित प्रसूतिगृहले बिरामीलाई खुवाउने खाना गुणस्तरहीन भेटिएको हो अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
स्रोतका अनुसार कान्ति बाल अस्पतालको खाना भने निर्धारित मापदण्डभित्र भेटिएको थियो। मापदण्डविपरीत ठहरिएका यी तीन अस्पतालविरुद्ध खाद्य विभागले मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। ‘अनुगमनका क्रममा राजधानीका केही ठूला अस्पतालले बिरामीलाई उपलब्ध गराउँदै आएको खाद्यपदार्थ गुणस्तरहीन भेटिएको छ’, विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘खाद्यपदार्थमा जीवाणु भेटिएका अस्पतालविरुद्ध मुद्दा दायर गर्ने तयारीमा छौं।’
सरकारी अस्पतालले वितरण गर्ने खानामा चरम लापरबाही गरेको भन्दै आयोगमा परेको उजुरीका आधारमा खाद्य विभागको सहकार्यमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा वीर अस्पतालको ‘डाइट सेक्सन’ भन्ने शाखाले बिरामीका लागि तयार पारेको दाल, भात, तरकारी, साग, जाउलो, सुपलगायतका खानेकुरामा अत्यधिक मात्रामा सूक्ष्म जीवाणु (कोलिफर्म) भेटिएको थियो।
‘स्वस्थ हुन अस्पताल भर्ना हुने अधिकांश बिरामीको ओछ्यानमा जीवाणुयुक्त दूषित खाद्यपदार्थ उपलब्ध गराइएको फेला परेको थियो’, स्रोतले भन्यो, ‘यस्ता खाद्य पदार्थबाट बिरामी झनै अस्वस्थ हुने खतरा हुन्छ। वीरजस्तो अस्पतालले बिरामीको स्वास्थ्यसँग खेलबाड गरेको पाइयो।’
यस्ता दूषित खाना खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने, अम्लपित्त हुने, फुड प्वाइजन हुने, वाक्वाकीलाग्नेजस्ता समस्या हुन्छ।
वीरका निर्देशक डा. स्वयंप्रकाश पण्डितले अनुगमनका क्रममा भान्छाकोठा अत्यधिक फोहोर देखिएको, कामदारले एप्रोन नलगाएको र खाद्यपदार्थ स्वच्छ नभएको स्वीकार गरे। उनले पछिल्लो अवस्थाबारे आफूलाई जानकारी नभएको बताए।
प्रसूतिगृहले पनि बिरामीलाई नि:शुल्क वितरण गर्दै आएको खाद्य पदार्थमा अत्यधिक परिमाणमा सूक्ष्म जीवाणु भेटिएको अनुगमनका सहभागीले बताए। ‘प्रसूतिगृहको जाउलो, दाल र सुपको नमुना लिएर परीक्षण गर्दा घातक रोगका जीवाणु भेटिएको थियो’, स्रोतले भन्यो।
टिचिङको एमडी चमेनागृहमार्फत बिरामीलाई उपलब्ध गराइने खाद्यपदार्थमा पनि जीवाणु फेला परेको थियो। विभागले वीर अस्पतालका निर्देशक डा. पण्डित तथा प्रसूतिगृह र टिचिङका अस्पताल प्रशासनलाई विपक्षी बनाएर खाद्य ऐनको ‘दूषित’ दफाअन्तर्गत जनही अधिकतम दुई वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय माग गरेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसुझावका लागि पत्र पठाएको छ। ‘रायसुझाव प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दायर गर्छौं’, स्रोतले भन्यो।
बिरामी कुरुवाको उजुरीका आधारमा वाणिज्य विभागले शिक्षण अस्पतालकै एबी क्यान्टिनमा दुई साताअघि अनुगमन गर्दा म्याद नाघेका खाद्य र पेय पदार्थ, तेल तथा मसला, तयारी खाद्यपदार्थ बिस्कुट, पाउरोटी, चाउचाउ, सस, दुनट बिरामी र बिरामीका कुरुवालाई बिक्री गरेको पाइएको थियो। अस्पताल प्रशासनको लापरबाहीका कारण चमेनागृहले दूषित तथा बासी भात, दाल, तरकारी, साग, सुप र जाउलोलगायतका खाद्यपदार्थ बिरामी तथा कुरुवालाई बिक्री गरेको भेटिएको थियो।