दुलहाले दुलहीलाई अब बढीमा साढे तीन तोला सुन दिए पुग्ने

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस २४ – सरकारले अब आइन्दा विवाहमा दुलहाले दुलहीलाई साढे तीन तोलाभन्दा बढी सुनका गरगहना दिन नपाउने कानूनी व्यवस्था गर्न लागेको छ ।सरकारले विवाहमा आदानप्रदान हुने दाइजो तथा गरगहनामा नियन्त्रणका लागि सामाजिक व्यवहार सुधार विधेयक २०७१ तयार गरेको छ । विधेयकमाथि व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिमा बिहीबार दफावार छलफल सुरु भएको छ ।

sun ko gahanaaविधेयकमा दुलहा पक्षले दुलही पक्षलाई बढीमा साढे तीन तोला तथा दुलही पक्षले दुलाहा पक्षलाई पौने दुई तोलाभन्दा बढी सुनका गरगहना वा सो बराबरको रकम वा जिन्सी सामान दिन नपाउने उल्लेख गरिएको छ ।

विधेयक समिति हुँदै संसदबाट पारित भए दाइजो स्वरुप तोकिएको भन्दा बढी गरगहना लिने/दिनेले जेल जानुपर्छ । विधेयकमा दुलहीलाई साढे तीन तोला र दुलहालाई पौने दुई तोलाभन्दा बढी सुनका गरगहना दिइएमा त्यस्ता गरगहना जफत गरी लेनदेनमा संलग्नलाई तीन महिनासम्म कैद गर्न प्रस्ताव गरिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विवाहमा अनुत्पादनक खर्च तथा भड्किलो प्रदर्शन गर्ने प्रवृत्ति बढेका कारण त्यसलाई निरुत्साहित गर्न विधेयक बनाइएको बताउनुभयो । विधेयकमाथि राज्य व्यवस्था समितिका सभादले १ सय १ वटा संशोधन प्रस्ताव पेश गरेका छन् ।

खासगरी तराई क्षेत्रका सभासदले आर्थिक हैसियत भएका र राजीखुशीले दाइजो दिन चाहनेलाई विधेयकले अन्याय गरेको बताएका छन् । उनीहरुले दाइजो दिइने सुनका गरगहनाका वा सो बराबरको रकमको मात्रा तोक्न नहुने धारणा राखेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमले विधेयक परिमार्जनका लागि आफू तयार रहेको भन्दै परिमार्जन गर्नुपर्ने विषयमा सुझाव दिनका लागि उपसमिति गठन गर्न प्रस्ताव गर्नभयो ।

विधेयकमा विवाहमा बाजावाला र भरियासहित १ सय ५० जनाभन्दा बढी जन्ती लान नपाउने तथा विवाह भोजमा ३ सय ५० जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाउने उल्लेख गरिएको छ । तोकिएको भन्दा बढीलाई जन्ती तथा विवाह भोजमा सहभागी गराउनेमाथि ५० हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ ।