उद्योगवाट नियमित बितरण भएपनि वजारमा ग्यांस छैन

627 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0054 copyधादिङ-बजारमा ग्यासको चरम अभाव भए पनि धादिङ जिल्लाको पृथ्वीराजमार्ग क्षेत्रमा  रिफिलिङ सेन्टरहरूमा मनग्गे छ । जिल्लाको पृथ्वी राजमार्गसँग जोडिएका एक दर्जन ग्यास उद्योगमध्ये स्थानीय प्रशासनले बुधबार आठ रिफिलिङ सेन्टरको अनुगमन गर्दा यस्तो पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले अनुगमनमा स्थानीय उद्योगहरूले नियमित कोटाअनुसार नै राजधानीका ग्यास डिपोहरूमा भरिएको ग्याँस सिलिन्डर पठाएको पाइएको वताउनु भयो ।  । प्रशासन टोलीले बैरेनी-९ स्थित नमस्ते ग्यास उद्योगदेखि नौविसे-२, खानीखोलास्थित सुगम ग्यास उद्योगसम्मका ८ रिफिलिङ सेन्टरमा अनुगमन गर्दा बजार पठाएर पनि बुधवार सांझ सम्ममा १ सय ८६ टन ग्यास स्टक रहेको पाएको थियो । नमस्ते ग्यास उद्योगबाहेक अन्य उद्योगमा भारतीय बुलेटहरूबाट ग्यास निकालिँदै थियो । प्रत्येक ग्यास उद्योगमा ३ सयदेखि एक हजार एक सय सिलिन्डर ग्यास राजधानी पठाउन तयारी अवस्थामा थिए ।
धादिङको पृथ्वी राजमार्ग क्षेत्रमा दर्जन ग्यास रिफिलिङ सेन्टर छन् । 

‘पाँच दिनदेखि हरेक उद्योगबाट दैनिक एक हजार एक सयदेखि एक हजार ५ सय ५२ सिलिन्डिर ग्यास राजधानी पठाइएको नियमित चलानीबाट देखिन्छ,’ सहायक प्रजिअ शर्माले बताउनु भयो  । यी उद्योगले राजमार्ग छेउछाउका बजारका नियमित डिपोलाई समेत नदिएर ग्यास राजधानी पठाउने गरेको पाइएको थियो  ।

भूमेस्थान-९ खयरघारीस्थित होटल कान्तिपुरका सञ्चालक राजकुमार प्याकुरेल होटल संगैै जोडिएर रहेको ओम ग्यांस उद्योगवाट ग्यांस माग्दा थुनामा पर्नु परेको छ । स्थानिय डिपोलाई ग्यांस नदिएपछि कम्पनीमा ग्यांस माग्ग पुगेका प्याकुरेलको मागको सुनुवाई नभएपछि स्थानीयवासीको सक्रियतामा बुधवार विहान प्याकुरेल सहितको टोलीले ओम ग्यांस उद्योगको खयरघारी स्थित कुल गेटमा तालावन्दी गरेर विरोध जनाएका थिए । स्थानीय उपभोक्तालाई सहज रुपमा ग्याँस नदिएर हैरानी खेप्न वाध्य पार्दै आईरहेको ओम ग्यांसका संचालकहरुले  शक्तिको आडमा प्याकुरेललाई प्रहरी लगाएर थुनाएपछि राजमार्ग क्षेत्रका ग्यांस उद्योग भित्र राजनैतिक क्षेत्रका उच्च तहका व्यक्तिहरुको अदृष्य लगानी रहेको हुन सक्ने अनुमान गरिएको छ । प्याकुरेललाई प्रहरी लगाएर होटलवाटै पक्राउ गरिएको थियो । प्याकुरेल धादिङ जिल्ला होटल संघका अध्यक्ष समेत हुन ।  उनलाई ग्यांस उद्योगमा गएर आतंक मच्याएको आरोप लगाईएको थियो । बुधवार विहान पक्राउ परेका प्याकुरेल विहीवार सांझ सम्म पनि प्रहरी नियन्त्रणमा रहेका थिए । उद्योगले ग्यास उपलब्ध नगराएपछि बुधबार बिहान ओम ग्यास उद्योगमै तालाबन्दी गरेका थिए । स्थानीय सुवेदी इन्टरप्राइजेजलाई मात्र मासिक एक सय सिलिन्डिर उपलब्ध गराउँदै आएको ओम ग्यांस उद्योगले दैनिक एक हजार ५ सय ३० सिलिन्डर ग्यास राजधानी पठाउने गरेको छ ।

         जिल्ला होटल संघका प्रतिनिधिहरुले प्याकुरेल पक्राउ परेको बिषयमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउंदै जिल्लाका ग्यांस उद्योगहरुले होटल व्यवसायनै धराप पार्न षडयन्त्र गर्दै ग्यांसको अभाव पार्नुका साथै ग्यांस माग्दा झुठा मुद्धा लगाउन खोजेको वताएका छन ।