धादिङको ग्रामीण सडकमा घट्यो भाडा,यात्रुलाई राहत

1261 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0571धादिङ,- धादिङ जिल्लाको ग्रामीण सडकहरुमा चल्ने भाडाका यात्रुवाहक जिप र मिनिवसको भाडादर पहिलो पटक घटेको छ । जिल्लाका यातायात व्यवसायिहरुले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि स्थानीय प्रशासनको पहलमा व्यवसायीहरुले ग्रामीण सडकमा भाडा घटाएका हुन ।
जिल्लाका यातायात व्यवसायी सहित शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले कच्ची सडकको भाडा घटाएको हो । सर्वपक्षिय बैठकले जिल्लाका अधिकांश ग्रामीण सडकहरुमा जीपहरुको भाडामा १ सय रुपैँया र मिनिबसको भाडा दरमा ५० रुपैँया सम्म घटाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मुल्य घट्नेक्रम बढिरहेको भएपनि ग्रामीण सडकमा चल्ने सवारी साधनले पुरानै भाडा लिने गरेको जनगुनासो आएपछि भाडा दरपनि घटाईएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
भाडा घटेसंगै अब धादिङबेसीदेखि आरुघाट सम्मको बसभाडा २ सय १० रुपैयाँ कायम गरिएको छ । यसैगरी खहरे १ सय ८५,खरी र चैनपुर हुंदै बुङकोटघाट १ सय ५०,मैदी अमराई र पिपलटार १ सय १०,फुलखर्कको ३ सय ५० रुपैया भाडा कायम भएको छ । त्यसैगरी सुनौलावजार भोर्ले १ सय १०,नलाङ कमलाबारी १ सय १५ र साङकोष टोडके सिम्ले सम्मको भाडा १ सय ५० रुपैया कायम गरिएको पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनु भयो ।
सदरमुकाम धादिङबेसीवाट ग्रामीण भेगमा चल्ने जिपहरुमा पनि अव नयाँ भाडा दर कायम गरिएको छ । जिपमा चढ्ने यात्रुहरुले यस अघि धादिङबेसीवाट दार्खा चौकी सम्म पुग्दा ४ सय ५० भाडा तिर्दै आईरहेकोमा शनिवार देखि ३ सय ५० रुपैया तिरेर यात्रा गर्न थालेका छन । नयां भाडा दर अनुसार अव धादिङबेसीवाट टोडकेको १ सय ४०,चरङ्गेको १ सय ५५,पौवा १ सय ८०,व्यारथोक १ सय ९०,लपाङ २ सय १०,पन्तटारको २ सय ३० रुपैया भाडा कायम गरिएको छ । धादिङबेसीदेखि लपाङ्सम्म २ सय १० रुपैया, किन्ताङफेदीसम्म २ सय ७५ रुपैया, दार्खाफेदीसम्म ३ सय १० रुपैया, खुर्सानीबारीसम्म ३ सय १५ रुपैया, घयाङसाङ र दार्खा चौकीसम्म ३ सय ५० रुपैया भाडा कायम गरिएको छ । सडक सुविधा नपुगेको उत्तरी धादिङका पांच गाविस जोड्ने धादिङ जिल्लाको उत्तरी क्षेत्रको प्रमुख नाका दार्खा गाविसको घ्याङसाङ घ्याङसाङ सम्मको दुरी सदरमुकाम धादिङबेसीवाट ४१ किलोमिटर भएपनि यस अघि यहां सम्म आवत जावत गर्न जिपले प्रति व्यक्ति४ सय ५० रुपैया भाडा लिने गर्दथ्यो । नयां भाडा दर अनुसार अव धादिङबेसी घ्याङसाङको भाडा ३ सय ५० कायम गरिएको छ ।
त्यस्तै धादिङबेसीबाट रिङने भाँजासम्म २ सय ४० रुपैया, गुम्दी सातदोबाटेसम्म ३ सय ० रुपैया, गुम्दी ३ सय २० रुपैया, छेलाङसम्म ३ सय ४० रुपैया र धादिङबेसीबाट चिम्चोकसम्म ४ सय रुपैया नयाँ भाडादर समायोजन गरिएको छ । अधिकांश ग्रामीण सडकमा चल्ने जिप र मिनिवसको भाडा घटाईएपनि कालोपत्रे सडकमा भने अझै पनि भाडा समायोजन हुन सकेको छैन । यातायात व्यवस्थापन विभागले निर्धारण गरेको भाडादर भन्दा व्यवसायिहरुल्ऽे बढी भाडा असुल्दै आईरहेका छन । ८८ किलोमिटर दुरी रहेको धादिङबेसी काठमाण्डौं आवत जावत गर्न व्यवसायीहरुले १ सय ८० रुपैया भाडा लिने गरेका छन् । त्यसैगरी १७ किलोमिटर दुरी रहेको धादिङबेसी मलेखु (फुर्केखोला)को भाडा ५० रुपैया लिने गरिएको छ ।
जिल्लाको ग्रामीण सडकको गाडीभाडा समायोजन भएपछि सर्वसाधारण खुशी भएका छन । यसैबीच जिल्लाका यातायात व्यवसायीहरुले सर्वपक्षिय बैठकले निर्धारण गरेको गाडीभाडा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका छन । नयाँ भाडादर शनिबारबाट नै लागु भएको र यदि कुनै पनि सवारी साधनले तोकिएको भन्दा बढी भाडा असुल गरेमा नियमअनुसार कारवाही गरिने जिल्ला अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले वताउनु भएको छ । धादिङमा धादिङ यातायात व्यवसायी संघ, धादिङ माईक्रोवस व्यवसायी संघ र ग्रामीण यातायात सहकारी संस्था मार्फत जिल्लाका विभिन्न रुटमा सवारी चल्ने गरेको छ । यसैगरी तीनवटै व्यवसायी संस्थाहरुको सहकार्यमा संयुक्त यातयात जीप सेवा समिति मार्फत ग्रामीण सडकहरुमा जिप चल्दै आईरहेको छ ।