दारेचोक–गोर्खा जोड्ने पुल बन्दै

1070 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दारेचोक । चितवनको दारेचोक गाविस र गोरखाको मकैसिङ गाविस जोड्ने गरी त्रिशुली नदीमाथि पुनः अर्को पुल बन्ने भएको छ । १७ करोडको लागतमा पुल बन्न लागेको हो चितवन पोष्ट दैनिकले खबर लेखेको छ ।
14vmeqoहाल त्रिशुली नदीमाथि दासढुंगामा मोटरेबल पुल बनिरहेको छ भने ठिमुरा देवघाट जोड्ने गरी पक्की पुल निर्माण कार्य केही समयमा सुरू हुँदैछ । यसअघि मुग्लिनमा मोटर पुल रहेको थियो । मुग्लिन पुल दारेचोक गाविस ४ नम्बर वडामा पर्छ । निकै पुरानो यस पुल अहिले पनि नियमित मर्मतका क्रममा रहेको छ ।
सम्पन्न आयोजना, निर्माणधीन आयोजना र केही समयपछि सुरू हुने आयोजना गरी कुल ४ वटा पुल त्रिशुली नदीमाथि बन्ने भएको हो । जसअन्तर्गत तीनवटा पुलले चितवन र तनहुँ जोड्छ भने एउटाले गोरखा जिल्ला जोड्नेछ ।
दारेचोक गाविस वडा नम्बर ७ चुमखोला र गोरखाको मकैसिङ गाविस–२ बुटार जोड्ने गरी १५१ मिटर लामो मोटरेबल पुल बन्ने भएको हो । तीन वर्ष ६ महिनाभित्रमा पुल निर्माण कार्य सम्पन्न हुने बताइएको छ । निर्माणपछि गोरखा जिल्लाका झण्डै १ दर्जन गाविसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने आशा लिइएको छ ।
पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले पुलको शिलान्यास गरेका स्थानीय चन्द्रमणी सापकोटाले जानकारी दिए । पक्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । पुल बनेपछि गोर्खाको मकैसिङ, फुजेल, दर्बुङ, घैरुङ, मनकामना, ताक्लुङ, भुम्लिचोक क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने छन् ।
बुटार भएर अहिले दैनिक दर्जन बस तथा ट्रक गोरखाका विभिन्न पहाडी क्षेत्रमा गुड्ने गर्छन् । यसैगरी दासढुङामा रहेको मोटर पुल अहिले पुनः निर्माण कार्य थालिएको छ । पुलमा टस हाल्ने काम भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर हरिकुमार पोखरेलले जानकारी दिए ।
अघिल्लो वर्षको हावाहुरीले यस पुल भत्काएको थियो । त्यसपछि त्रिशुलीमा नदीको वहावले काम गर्न असहज भएको भन्दै ठेकेदार पक्षले केही महिना काम स्थगित गरेको थियो । नदीको बहाब कम भएसँगै पुनः काम थालिएको हो । आगामी असार महिनासम्ममा काम सम्पन्न गर्ने गरी धमाधम निर्माण भइरहेको प्रमुख पोखरेलले जनाए ।