स्टेज प्रोग्रामको भर
1481 पटक पढिएको
कुनै समय थियो– रेडियो÷क्यासेटमा गीत घन्काउँदै परदेशी घर फर्किन्थे । लाहुरे दाइ काँधमा रेडियो भिरेर भन्ज्याङ–चौतारी नै गुन्जायमान बनाउँथे । रेडियो÷क्यासेट हुनुको ‘शान’ नै बेग्लै हुन्थ्यो । हुनेका घरमा गीत–संगीत सुन्न गाउँटोलका बासिन्दा झुम्मिन्थे ।
ग्रामीण परिवेशको चरित्रचित्रण गरिएका झलकमान गन्धर्व, लोकबहादुर क्षेत्री, कुमार बस्नेत, बुद्धि परियार, ज्ञानु राणा, मीरा राणा, धर्मराज थापा, तीर्थ गन्धर्व, बमबहादुर कार्की, कोमल वलीलगायतले स्वरबद्ध गरेका लोकसंगीत केटाकेटीदेखि वृद्धवृद्धासम्मको जिब्रोमा भुन्डिन्थ्यो । पँधेरो, मेलापात, गोठालो जाँदाको गीत हुन्थ्यो, दुःख पीडा हुन्थ्यो । गीतमा चेतना झल्किन्थ्यो । तिनै सांगीतिक हस्तीहरूको स्वरमा स्वर मिलाएर धेरै युवा गायन क्षेत्रमै लागे ।
गायक÷गायिका अडियो (चक्का) बिक्रीबाटै जहान–परिवार पाल्नसक्ने स्थितिमा थिए । नाम र दाम धेरथोर उतिबेला राम्रै थियो । ५० को दशकसम्म ग्रामीण परिवेशमा यसले निरन्तरता पायो । तर, अहिले परिस्थिति र जीवनशैली फेरिएको छ । गीतको भाव मायाप्रीतिमा केन्द्रित छ । श्रोता बढेका छन्, चाहना बदलिएको छ । तर, प्रविधिको उपयोगले गीत सुन्न हिजोआज पैसा खर्चिनु पर्दैन । गीत बिक्री हुन छाडेको छ । पेनड्राइभ, मेमोरी कार्ड, सीडी, भीसीडी प्लेयर, एमपीफोर र अन्य आधुनिक प्रविधिका साधनले गीत किनेर होइन, कपी गरेर सुन्ने÷हेर्ने परिपाटी विकास भएको छ । क्यासेट÷रेडियो ओझेलमा परेका छन् ।
गीतसंगीतमा पाश्चात्य प्रभावले नेपाली मौलिकता हराउँदै गएको छ । गाएरमात्रै जीविकोपार्जन गर्न सक्ने स्थितिमा कलाकार छैनन् । वरिष्ठ लोकगायक कुमार बस्नेत गीत–संगीतमा पुस्तान्तरणसँगै पुराना कलाकार सबैतिरबाट ओझेलमा परेको बताउँछन् । “गाएर सेतै कपाल फुल्यो, अहिले आएर जताततैबाट पुराना कलाकार उपेक्षित बनेका छन्,” क्यासेट बिक्रीबाटै कमाइ हुने गरेको स्मरण गर्दै उनी भन्छन्, “अहिले त क्यासेट बिक्रीको कुरामात्रै होइन, गीत नै कस्तो आयो, कस्को आयो, थाहा हुन्न ।”
नेपाली सदाबहार लोकगायिका तथा रेडियो नेपालकी समाचार वाचिका कोमल वली सांगीतिक क्षेत्रमा प्रविधिको प्रवेश र अस्वस्थ प्रतिस्पर्धाले लोकसंगीतबाट मात्रै कलाकारले जीवन धान्न मुस्किल हुने बताउँछिन् । “गाएरमात्रै जीवन निर्वाह गर्न सकिने स्थिति छैन, स्टेज कार्यक्रमको अफर नआउने हो भने व्यावसायिक गायक–गायिका पलायन हुने स्थिति छ ।”
गीत किनेर सुन्ने प्रवृत्ति ०६० सालयता हराएको वलीको बुझाइ छ । “गीतसंगीतका पारखीलाई गीत किन्नुपर्ने बाध्यता छैन, प्रविधिको दुरुपयोगले पाइरेसी बढेको छ,” उनी भन्छिन्, “यसले सिंगो सांगीतिक क्षेत्रमाथि नै नोक्सानी पुगेको छ ।”
०४४ सालबाट गायन क्षेत्रमा प्रवेश गरेकी वलीले करिब ६ सय गीतमा स्वर दिइसकेकी छन् । “म बर्सेनि नयाँ–नयाँ एल्बम निकालिरहेकी छु, लोकप्रियता पनि उत्तिकै छ तर आर्थिक उपार्जनका लािग भने स्टेज कार्यक्रम नै कुर्नुपर्छ ।” एउटा स्टेज कार्यक्रममा भाग लिएबापत वली नेपालमा लाखसम्म र विदेशमा डेढ लाखभन्दा बढी लिन्छिन् ।
गायक पशुपति शर्माको व्यथा पनि उस्तै छ । आफ्नै शब्द, संगीत र स्वरमा डेढ–दुई सय गीत रेकर्ड गराइसकेका शर्मा पनि नाम र दाम कमाउन स्टेज कार्यक्रम नै कुर्नुपरेको बताउँछन् । “थुप्रै गीत गाइयो, सबैबाट प्रशंसा पाइयो तर गीत बेचेर जीवन धान्न सक्ने अवस्था छैन,” उनी भन्छन्, “स्टेज कार्यक्रमले जीवन धान्नुपरेको छ ।” वर्षदिनमा उनले डेढ–सयजति स्टेजमा कला प्रस्तुत गरिसकेका छन् । उनी पनि स्टेज कार्यक्रममा एकदेखि डेढ लाखसम्म लिन्छन् ।
०५८ देखि नेपाली लोकसंगीतमा प्रवेश गरेका शर्मा राज्यले कलाकारलाई ‘गहना’ मात्रै मानेकोमा चित्त दुखाउँछन् । “हामी सबैका गहनामात्रै भयौं,” उनी दुखेसो गर्छन्, “दैनिकी गुजार्न पैसै चाहिन्छ ।” पाइरेसीविरुद्धको कानुन कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने उनी बताउँछन् ।
अर्का लोकगायक कुलेन्द्र विकको गुनासो पनि वली र शर्माको भन्दा भिन्न छैन । ०६२ सालबाट निरन्तर लोकसंगीतमा सक्रिय विकले अहिलेसम्म ५ हजार गीतमा स्वर दिइसकेका छन् । तर पनि उनी स्टेज कार्यक्रममै निर्भर छन् । “अरूले हेर्दा यति धेरै गीत गाएपछि आम्दानी पनि त्यहीअनुसार होला जस्तो देखिन्छ तर विडम्बना गीत बिक्रीबाट कलाकारले जीवन धान्न सक्दैनन्,” उनी भन्छन् । स्टेज कार्यक्रममा अवसर नआउने हो भने थुप्रै नेपाली कलाकारले विदेश पलायन र पेसा परिवर्तनको बाटो रोज्ने उनको भनाइ छ ।
विभिन्न महोत्सव, चाडपर्वलगायतमा वार्षिक ४० देखि ५० वटा स्टेज कार्यक्रममा उनी सहभागी हुन्छन् । एउटा स्टेज कार्यक्रमबाट विकले स्वदेशमा ५० हजार र विदेशमा १ लाखमाथि लिन्छन् । “हाम्रो आम्दानीको प्रमुख स्रोत नै स्टेज कार्यक्रम हो,” उनी भन्छन्, “गीत बिक्री हुने जमाना छैन, पाइरेसीसम्बन्धी कानुनलाई कडाइका साथ लागू नगरेसम्म र कलाकारिताको उत्थानमा सरकार नलागेसम्म हामीपछिको पुस्ताले पनि यस्तै समस्या बेहोर्नुपर्ने निश्चित छ ।”