चेपाङ महिलाहरु तरकारी खेतीमा

918 पटक पढिएको

सम्पादक: Dhading News

tarkaari khetiजोगिमारा – अति सिमान्तकृत बर्गमा पर्ने चेपाङ समुदाय आयआर्जनका लागि तरकारी खेती तर्फ आकर्षित हुन थालेका  छन् ।  तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि चेपाङ महिलाहरुले आफ्ना बालबालिकालाई नियमित  विद्यालय पठाउन समेत  थालेका छन् ।  जिल्लाको जोगीमारा गाउँ विकास समितिको वडा नम्वर –२, जवाङका चेपाङ महिलाहरुले  तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि आफ्ना बालबालिकालाई नियमित  विद्यालय पठाउन थालेका हुन् । गिठ्ठा भ्याकुर जस्ता कन्दमुल खाएर जिविका गर्ने चेपाङले तरकारी खेतीबाट भएको आम्दानीले बालबालिकालाई विद्यालय पठाउने मात्र होइन मिठो खान र राम्रो लाउन सक्ने समेत हुन थालेका छन् । आफ्नो भएको पाखा पखेरामा लगाएको  काउली , गोलभेडा, आलु र  घ्युसिमी जस्ता तरकारी बेचेर वार्षिक ५० हजार भन्दा बढी आम्दानी हुने भएपछि गाँउको मुहार नै बदलिएको जवाङकी सन्सरी चेपाङको अनुभव छ । तरकारी बेचेर यहाँका चेपाङ किसानहरुले वार्षिक ७५ हजार सम्मको  आम्दानी लिने  गरेका छन ।  जवाङ गाउँका  अधिकाँश चेपाङ महिलाहरुले  आयआर्जनका लागि  तरकारी खेती गरेर राम्रो आम्दानी लिन शुरु गरेको भएपनि जिल्लाका अन्य ठाउँका चेपाङ समुदायको अवस्था भने निकै दयनीय रहेको छ ।