जोखिम मोलेर नदी तर्ने दुई बालिकालाई लाइफ ज्याकेट

711 पटक पढिएको

सम्पादक: Dhading News

10937842_10204480295419831_1526529466_nमझिमटार- घर नजिकै नदी तर्ने तुईन र पुल नहुंदा हरेक दिन ज्यानको वाजी राखेर जोखिमपूर्ण ढंगबाट ट्युब चढेर त्रिशूली नदी तर्दै दिनहुँ विद्यालय आउने गरेका गोरखा भुम्लिचोक–८ हुयलिङ्बेंसीका दुई छात्रालाई दाताहरुको सहयोगमा ‘लाइफ ज्याकेट’ दिइएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा बस्दै आएकी काठमाण्डौंकी महालक्ष्मी महतले ती दुई वालिकाको वारेमा केही दिन अघि सार्वजनिक भएको समाचार पढेपछि ट्युब पल्टिँदा आउन सक्ने जोखिमबाट बचाउन आफूले दुई थान ज्याकेट उपलव्ध गराएको बताउनुभयो ।

तुइन र झोलुङ्गे पुल नजिक नहुँदा त्रिशूलीको भेलमा हेलिएर हरेक दिन धादिङको मझिमटारमा रहेको शङ्खादेवी उमाविमा पढ्न आउने गरेका सरिता र राममाया चेपाङलाई विहीवार एक –एक थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।

लाइफ ज्याकेट पाएपछि उनिहरु खुसी देखिएका थिए । लाईफ ज्याकेटको सहयोगले अब ट्युब पल्टिए पनि आफूहरु जोगिन सक्ने उनिहरुको भनाई छ । राज्यको चासो नपुगेका कारण यहांका वासिन्दा सामान्य कामका लागि मात्रै होइन संकट परेको बेलामा समेत जोखिम मोलेर नदी तर्न वाध्य हुंदै आईरहेका छन ।

हाल जोखिम बहन गरेर नदी वारपार गर्ने चार घर भए पनि सो स्थानमा पुल निर्माण गर्न सकिए दुई सय घरपरिवारले लाभ लिन सक्ने नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य एवम शंखादेवी उच्च मावि मझिमटारका शिक्षक तिलक चेपाङ बताउनुहुन्छ ।