मतदाता नामवलीमा नाम दर्ता गर्न टोली गाउं गाउंमा

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङमा माघ १५ गतेदेखि गाविस तथा नगरपालिकाका वडामा फोटो सहितको मतदाता नामावली संकलन शुरु गरिएको छ ।
182b42e5c7ecd854f7f0bfe56c4afd9fजिल्ला निर्वाचन कार्यालय धादिङले गाविस र नगरपालिकाका वडा स्तरमैं पुगेर बिगतमा छुटेकाहरुको नामावली संकलन गर्नुका साथै त्रुटी सच्याउन लागेको हो । उमेर पुगे पनि दर्ता प्रक्रियामा छुटेका व्यक्तिको फोटोसहितको मतदाता नामावली संकलन, भएका त्रुटी सच्याउने र बसाई सराई भएका व्यक्तिहरुको नामावली सच्याइने जिल्ला निर्वाचन अधिकारी नारायण पोखरेलले बताउनुभयो । जिल्लालाई तीन वटा कलष्टरमा विभाजन गरिएको र त्यसका लागि आवश्यक कर्मचारी परिचालन गरिएको छ ।
धादिङमा ७५ हजार जनाको नाम मतदाता नामावलीमा नाम छुटेको अनुमान निर्वाचन कार्यालयको छ । २०६३ मा कुल मतदाता संख्या २ लाख ७६ हजार २ सय ५९ जना रहेको थियो । यसै गरी २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख ३६ हजार ६७ रहेकोमा १६ बर्ष माथिको जनसंख्या २ लाख १२ हजार ३ सय ८९ रहेको थियो । कुल जनसंख्या मध्ये २०७१ पौष मसान्त सम्ममा १ लाख ८२ हजार ४ सय ४ जनाको नाम मतदाता नामावलीमा दर्ता भईसकेको पनि कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार २०७० मा धादिङमा कुल मतदाता संख्या १ लाख ७१ हजार ३७ जना रहेका थिए भने समग्र जिल्लाको मतदान प्रतिशत ७९.१० प्रतिशत रहेको पनि निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनु भयो ।
जिल्लाका ४६ वटा गाविस तथा नीलकण्ठ नगरपालिकाका १३ वटा वडा मध्ये पहिलो चरणमा ४६ गाविसमा छुटेकाहरुको नामावली संकलन तथा त्रुटी सच्याइने उहाँको भनाइ छ । यसका बारेमा गाविस स्तरसम्म सचेतना प्रदान गर्नका लागि गाविसमा गाविस सचिव र नगरपालिकाका वडा सचिवलाई सहायक दर्ता कर्मचारी र सामाजिक परिचालकल्ऽाई निर्वाचन शिक्षा कार्यकर्ताको रुपमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।
जिल्ला कार्यक्रम व्यबस्थापन समितिको बैठक बसेर दर्ता कर्मचारी छनोट गर्नुका साथै सहायक दर्ता कर्मचारी र निर्वाचन शिक्षा कार्यकर्तालाई अभिमुखिकरण समेत गराईएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । मतदाता नामावलीमा भएको त्रुटी सच्याएपछि र छुटेकाहरुको फोटो सहितको मतदाता नामावली संकलन भएपछि निर्वाचन आयोगले सबैलाई स्थायी प्रकृतिको फोटो सहितको मतदाता परिचयपत्र प्रदान गर्ने तयारी गरिरहेको छ । अर्को पटक तत्काल फेरी नामावली संकलन नगरिने भएकोले टोली गाविस तथा नगरपालिकाको वडामा आइपुगेका बेला आफ्नो नाम लेखाउन र त्रुटी सच्याउन पनि जिल्ला निर्वाचन अधिकारी पोखरेलले सबैलाई आग्रह गर्नु भएको छ । १६ वर्ष पुगिसकेका र नागरिकता प्रमाणपत्र लिइसकेका व्यक्तिले नाम दर्ता गराउन सक्ने उहाँको भनाइ छ ।
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता नभएमा आगामी दिनमा हुने निर्वाचनमा मतदान गर्न नपाइने भएकाले गाविसमा टोली आएका बेला अनिवार्य रुपमा नाम दर्ता गराउनु पर्ने जिल्ला निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।