हुलाकबाट चिठ्ठी पत्र पठाउनेहरु इमेलमा रमाउन थाले

670 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बाबुराम श्रेष्ठ
DSC00033धादिङ –संचारमा आधुनिक प्रबृद्धिको बिकास र प्रयोगसँगै जिल्ला हुलाक कार्यालय धादिङमा चिठ्ठी पत्र आउने जाने क्रम निकै घटेको छ ।
गाउं गाउंमा मोवाईल फोन, इमेल इन्टरनेटको प्रयोग बढ्दै गएपछि पछि हुलाकमा चिठ्ठी पत्र आउने जाने क्रम घट्न पुगेको जिल्ला हुलाक कार्यालय धादिङका प्रमुख गोविन्द लामिछानेले बताउनु भयो ।
बिगत ९ बर्ष अगाडि जिल्ला हुलाक कार्यालय धादिङमा दैनिक ३÷४ सय वटा सम्म चिठ्ठी पत्र आउने जाने गरेको भए पनि अहिले दैनिक ७० वटा मा पुगेको पनि लामिछानेले जानकारी दिनुभयो । हुलाकमा चिठ्ठीपत्र थुप्रिंदा मिलाउन भ्याई नभ्याई हुने गरेकोमा अहिले कर्मचारीहरु फुसर्दमा रहने गरेका छन ।
इमेल इन्टर नेटको प्रयोगले मानिसलाई संसारको जुनसुकै कुनामा भएपनि तुरुन्तै भेटाईदिने भएपछि हातले लेखेर पठाउनु पर्ने चिठ्ठी पत्रमा कसैको पनि चासो जान छाडेको हो । हुलाकमा विदेश तथा देशका अन्य भागमा रहेकाहरुलाई पठाउने चिठ्ठीको संख्या घटेपनि गाउं गाउंबाट स्थानीय रेडियोहरुमा पठाईने पत्रहरुमा भने कमि नआएको हुलाकका कर्मचारीहरु बताउंछन । हुलाक वाट चल्ने पत्रहरुमा सरकारी कार्यालयहरुको पत्रहरु बढी हुने गरेका छन । हुलाकबाट पठाएको खबर सम्बन्धीत ब्यक्ति सँग पुग्नको लागि लामो समय लाग्ने र इमेल इन्टरनेटबाट सबै भन्दा छिटो छरितो माध्यमबाट खबर प्राप्त गर्न सकिने भएकोले मानिसहरुले हुलाकको माध्यमबाट चिठ्ठी पत्र पठाउने कार्य छोडि सकेको लामिछानेको भनाई छ ।