धादिङ काठमाण्डौंको भाडा दर घट्यो, अब १ सय ७४ रुपैँयामा यात्रा गर्न पाउने

1204 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading busधादिङ– पेट्रोलियम पदार्थको मुल्य पटक पटक घटेपनि सार्वजनिक यातायातको भाडा  नघटेको आलोचना खेप्दै आएको  सरकारले भाडा दर घटाएको छ । यातायात विभागले एक विज्ञप्ति निकालेर धादिङ लगायत देशभर सार्वजनिक यातायातका लागि ४.३७ प्रतिशत भाडा घटाएको छ भने काठमाण्डौँ उपत्यका र तराईका लागि २. ३ प्रतिशत भाडा घटाएको छ । सरकारले सार्वजनिक भाडा दर घटाएसँगै धादिङ काठमाण्डौंको रुटमा चल्ने सार्वजनिक सवारी साधनमा ४ रुपैँया घटेको छ । अब धादिङबेसीबाट काठमाण्डौ् र काठमाण्डौँबाट धादिङबेसी सम्म १ सय ७४ रुपैँयामा यात्रा गर्न पाईने भएको छ । यसअघि सरकारले पुस ९ गते सवारी साधनको मुल्य समायोजना गर्दा धादिङका यातायात व्यावसायीहरुले भाडादर घटाएका थिएनन् । यसअधिनै १ सय ७८ रुपैँया सकारले तोक्दा पनि धादिङमा भने १ सय ८० रुपैँयानै असुल्दै आएका थिए । धादिङबेसीबाट काठमाण्डौ्को लागि दैनिक दर्जनौ सवारी साधन सन्चालन भएपनि सरकारले समायोजन गरेको भाडादर भन्दा बढी चर्को मुल्यमा भाडादर लिदैँ आएका छन् ।

धादिङमा धादिङ यातयात व्यावसायी संघ, ग्रामिण सहकारी संस्था लिमिटेडबाट सन्चालित ग्रामिण यातायात र धादिङ माईक्रोबस यातायात व्यावसयी संघले धादिङ काठमाण्डौँको रुटमा सार्वजनिक यातायात सन्चालन गरीरहेको छ । यदि सरकारले तोकेको भाडादर भन्दा बढी पैसा असुलेमा तत्कालै नजिकको प्रहरी कार्यलय अर्थात धादिङको प्रहरी कार्यलय ०१०–५२०१९९ मा सम्पर्क गर्न सकिने भएको छ  । यसैगरी यातायात व्यावस्था विभागको हटलाईन ४४७४७६७ तथा टोल फ्रि नम्बर ११११ मा फ्याक्स गरेर निवेदन दिन सकिने यातायात व्यावस्था विभागले सबैलाई सुचित गराएको छ ।