ब्रुसवाङका चेपाङलाई पानी खान यो हैरानी

529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,  – गाईबस्तुलाई तीन दिनमा एक पटकमात्र पानी खुवाइन्छ भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला । तीन दिनमा एक पटक, त्यो पनि घरदेखि तीन घण्टा टाढा रहेको कुवामा लगेर बस्तुलाई पानी खुवाउने गरेका छन धादिङको महादेवस्थान ३ ब्रुसवाङका चेपाङले ।

गाउं नजिकै पानीको श्रोत नभएका कारण ब्रुसबाङका वासिन्दाले गाईबस्तु पाल्न सास्ती खेप्नु परेको हो । पानी खुवाउन हैरानी भएकै कारण २६ घर चेपाङ परिवारको वसोवास रहेको ब्रुसवाङमा  धेरैले गाईबस्तु पालेका छैनन् ।

‘डोकोमा बोकेर लगेको पानी मान्छेलाई ठिक्क हुन्छ’, ब्रुसवाङका सिद्धिवहादुर चेपाङ भन्नुहुन्छ, ‘तीन दिनको पालो बनाएर गाईवस्तुलाई पानी खुवाउने गरेका छौँ । फटाफट हिंड्ने हो भने मुलसम्म पुग्न डेढ घण्टा लाग्छ ।’

dhading-news

कुवामा जम्मा हुने पानीको पनि श्रोत थोरै भएकोले गाईवस्तुलाई पानी खुवाउन पालो लगाउनुपरेको हो । बस्ती ब्रुसबाङ पहाडको टुप्पोमा छ । खानेपानी मात्र होइन ब्रुसबाङमा वर्षको ९ महिना खाद्यान्न संकट हुन्छ ।

गाउँका अगुवा टेकवहादुर चेपाङका अनुसार तिसिर खोलामा गाईवस्तुलाई लगेर पानी खुवाउनु र फर्कदा डोकोमा पिउने पानी बोकेर ल्याउनु ब्रुसवाङवासीको दैनिकी बनेको छ ।

राममाया चेपाङको घरमा एक हल गोरु सहित ९ वटा गाईबस्तु छन । ‘आफ्नो घरमा गोरु हुँदा खेतीपाती गर्न सजिलो हुन्छ भनेर पालेको हो’, राममाया भन्नुहुन्छ, ‘पानी खुवाउन संधैको हैरानी ।’

मान्छे र गाईबस्तुका लागि पानीको श्रोत एउटै भएका कारण सुख्खायाममा  कुवामा पानी सुक्दै जाने भएकाले पानी लिन धेरैवेर पालो कुर्नुपर्ने वीरवहादुर चेपाङ बताउनुहुन्छ ।

गाउँवासीले पानी खान खप्नुपरेपछि शान्ति नेपाल नामक संस्थाले कुवा मर्मत गरेर सानो ट्यांकी बनाईदिएको छ ।

गाउँलेहरु आफ्ना गाईबस्तु पधेँरा नजिकै बाँध्छन् र पालो अनुसार पानी खुवाउँछन् । पूर्णबहादुर चेपाङ भन्नुहुन्छ– ‘कुवावाट लगेको पानी कहिलेकाहीँ दिउंसै सकियो भने मान्छेले समेत पानी खान पाउँदैनन् ।’