अनीलको करामतले मनाङ सेमिफाइनलमा

792 पटक पढिएको

सम्पादक: Dhading News

पोखरा- गृह नगरको मैदानमा अनील गुरुङले करामत देखाउँदा मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा—रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरण फड्किन सफल भएको छ। आर्मी क्लबसँग पहिलो हाफमा १—० ले पछि परेपछि दोस्रो हाफमा मैदान छिरेका वैकल्पिक खेलाडी अनीलले टिमलाई कमब्याक गराउँदै २—१ को जित दिलाउन सफल भएका हुन्।

८ मिनेटमै गोल अग्रता लिएर स्फूर्तिसाथ हिट एन्ड रनको रणनीतिमा उत्रिएको आर्मीलाई निकै दबाबमा राख्न सफल मनाङले विपक्षीलाई प्रयास अनेकः गोल एकमै ठिमुर्याएउन सफल भयो। यसअघि लिगमा आर्मीलाई नै मनाङले ३—१ ले हराएको थियो। आहा—रारामा नयाँ छिमलका खेलाडी लिएर मैदान उत्रिएको आर्मीले पहिलो रोजाइका खेलाडीलाई आउँदो लिगकै लागि साँच्दा यो टुर्नामेन्टको यात्रा बिचैमा बिसाउनुपर्यो ।
पोखरेली खेलाडी सुशील केसीको सट्टा अनील दोस्रो हाफमा मैदान छिरेका थिए। मैदान छिरेको १० मिनेटमै अनीलले गोल गरेर बराबरीमा लगेका थिए। बायाँ कर्नरबाट दीपक राईले दिएको बल दह्रो हेडिङ गर्न कस्सिएका अनीलले छुस्स छुनासाथै गोल हुन काफी भएको थियो। ८५ औं मिनेटमा शिव श्रेष्ठको पासमा आएको बललाई उनले खुट्टैले गोल गरे। बुधबारको खेलमा तरक्की गर्न सफल अनील नै म्यान अफ दी म्याच पनि घोषित भए।
अनीलसँगै मनाङका तर्फबाट शिव श्रेष्ठ र विदेशी खेलाडी जुन्से जिकाइ डोडोजले उत्कृष्ट प्रदर्शन गरेका थिए। डोडोज र शिवले गरेका पटकपटकका प्रहार गोलमा परिणत त हुन सकेनन् तर विपक्षीलाई झस्काए र दर्शकलाई पनि बसेको ठाउँबाट उठाएर आँखा तन्काउन कर लगाए।
आर्मीतर्फबाट ८ औं मिनेटमा भएको पहिलो प्रयासमै राजीव गुरुङले गोल गर्न सफल भएका थिए। त्यसपछि उनको टिमले पहिलो हाफमा उल्लेख्य प्रयाससम्म पनि गर्न सकेन, विपक्षी मनाङको दबाब थेग्नै उसको सबै समय खर्च भयो। ६७ औं मिनेटमा फुर्बा तामाङले गरेको प्रहार मनाङका किपर विशाल श्रेष्ठलाई समात्न हम्मेहम्मे परे पनि उनको हात हुँदै बल बाहिरिएको थियो। त्यसबाहेक खासै आर्मी चुक्चुकाउनुपर्ने एटेम्ट दर्शकले देख्न पाएनन्।
आर्मीबाट दोस्रो रोजाइका खेलाडी आएको पनि सतर्कसाथ खेल्नुपर्छ भन्ने तयारी आफूहरुले गरेको प्रतिक्रिया मनाङका प्रशिक्षक राजु शाक्यले दिए। ‘उनीहरुले पहिलो हाफमा सुरुमै गोल गरेर राम्रो गरेका थिए,’ उनले भने, ‘तर हामी कम ब्याक हुन्छौं भन्ने थियो र भयौं पनि।’ आर्मीका प्रशिक्षक महेन्द्र खवासले पहिलो रोजाइका महत्वपूर्ण खेलाडी घाइते भएकाले नयाँ छिमल उतार्नुपरेको प्रष्टोक्ति दिए। ‘अरु खेलाडी लिगलाई राख्नुपर्नाले पनि ल्याउन सकिएन,’ उनले भने।