आयोजकद्वय इडेन पार्कमा भिड्दै

689 पटक पढिएको

सम्पादक: Dhading News

अकल्यान्ड–विश्वकप फाइनलको अभ्यासका रूपमा हेरिएको खेलमा चारपटकको विजेता अस्ट्रेलिया र न्युजिल्यान्डबीच अहिले अकल्यान्डको इडेन पार्कमा खेलिरहेका छन्। तर, यो समचार तयार पार्दासम्म अष्ट्रेलियाले १७.५ ओ‌भरको खेलमा ६ विकेट गुमाउँदै ९७ रन जोडेको छ।

लयमा देखिएको न्युजिल्यान्डले इङ्ल्यान्डलाई ८ विकेटले हराउँदै प्रतियोगितामा तेस्रो जित निकालेको थियो। त्यसअघि टोलीले श्रीलंकालाई ९८ रन र स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो।
४० वर्षको विश्वकप इतिहासमा दोस्रोपल्ट एकअर्काविरुद्ध खेल्न लागेका दुवै आयोजक टोली समूह ‘ए’ बाट विजेता हुँदै क्वार्टरफाइनल पुग्न चाहन्छन्।
पाकिस्तानसँग १९९२ को विश्वकपसेमिफाइनलमा हारेको न्युजिल्यान्डले समूह चरणमा अस्ट्रेलियासँग पहिलोपल्ट खेलेको थियो।
ब्रेन्डन म्याकलम न्युजिल्यान्डका बिस्फोटक ओपनर ब्याट्सम्यान हुन्। उनले एक ओभरमा नै खेललाई नयाँ गति दिन सक्छन्। उनले वेलिङ्टनमा इङ्ल्यान्डविरुद्ध २५ बलमा ७७ रन बनाएर त्यसलाई प्रमाणित गरिसकेका छन्। तर अस्ट्रेलियाका प्रशिक्षक डारेन लेहम्यान आफ्ना तीब्र गतिका बलरहरूले न्युजिल्यान्डका कप्तान म्याकलमलाई रोक्नेमा विश्वस्त देखिन्छन्।
‘उनले लामो सट खेल्छन्,’ लेहम्यानले म्याकलमबारे भने, ‘उनले निकै जोखिमपूर्ण खेल खेल्छन्। तर १ सय ३५ किमि प्रतिघन्टाको बलिङ र १ सय ४५ देखि १ सय ५० किमि प्रतिघन्टाको बलिङमा खेल फरक हुनेछ।’
‘दुवै पक्षलाई दबाब हुनेछ। उनी पक्कै पनि हामी माथि हाबी हुन खोज्छन् तर उनका लागि छुट्टै योजना बनाएका छौं,’ लेहम्यानले थपे।
अस्टे्रलियाले जारी विश्वकपमा एकमात्र खेल खेल्न पाएको छ। पहिलो खेलमा इङ्ल्यान्डलाई १ सय ११ रनले हराएको टोलीले बंगलादेशसँगदोस्रो खेलमा वर्षाका कारण अवरुद्ध हुँदा अंक बाँड्नुपरेको थियो।
अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले भने थोरैमात्र अभ्यास गर्न पाएका छन्। उनी ब्रिसबेनमा बंगलादेशविरुद्धको खेलबाट पुनरागमन गर्ने सोचमा थिए, तर वर्षाले त्यो हुनसकेन। जर्ज बेलीको स्थानमा खेल्ने क्लार्कले पछिल्लो वर्ष दुई मात्र अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्।
डेविड वार्नर र आरोन फिन्च अस्ट्रेलियाका गतिशील ओपनिङ जोडी हुन् भने उनीहरूलाई स्टेफन स्मिथ र मिचेल मार्शजस्ता तीब्रगतिमा रन जोड्न सक्ने ब्याट्सम्यानको साथ हुनेछ।
इडेन पार्कको मैदानको बाउन्ड्री छोटो भएकाले दुवै टोलीले यसको भरपूर फाइदा लिनेछन्। सजिलै चौका र छक्का बन्ने हुनाले दुवै टोलीउच्च स्कोर बनाउन सफल हुनसक्छन्। यद्यपि दुवै टोलीका बलर उत्कृष्ट छन्।
न्युजिल्यान्डले टिम साउथीबाट आशा गरेको छ। उनले एकदिवसीयामा न्युजिल्यान्डकै राम्रो बलिङ गर्नेक्रममा इङ्ल्यान्डविरुद्ध ७ विकेट लिएका थिए।
अस्ट्रेलियाको बलिङमा भने मिचेल जोन्सन र मिचेल स्टार्कलाई प्याट कुमिन्सले सम्हाल्ने छन्।
‘यो राउन्ड रोबिनको अर्को एक खेलमध्ये राम्रो खेल हो,’ न्यजिल्यान्ड प्रशिक्षक माइक हेसन भने।
इडेन पार्कमा खेलिएका पछिल्लो १६ खेलमध्ये अस्ट्रेलियाले ११ मा जित निकालेको छ। अस्ट्रेलिया–न्युजिल्यान्डको खेल हेर्न ४० हजार दर्शक इडेन पार्क रंगशालामा उपस्थित हुने अनुमान छ।