‘सूर्तीजन्य प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र अनिवार्य’
582 पटक पढिएको

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सूर्तीजन्य पदार्थको प्रयोगदर घटाउन सूर्तीजन्य प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र अंकित सन्देश छाप्नुपर्ने निर्णय गर्नुपरेको स्पष्ट पारेका छन्।
एक्सन नेपालद्वारा सोमबार राजधानीमा आयोजित अन्तक्रियामा मन्त्री अधिकारीले सूर्तीजन्य प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र अंकित सन्देश छाप्नुपर्ने प्रावधान जो सुकैले विरोध र अवरोध गरे पनि आगामी जेठ दुईदेखि लागू गरेरै छाडने बताए।

मन्त्री अधिकारीले जनताको स्वास्थ्यभन्दा ठूलो अन्य हुन नसक्ने भन्दै निर्णय कार्यान्वयमा यसको कार्यान्वयनमा सरकार पछि नहटने दृढता व्यक्त गरे।
उनले भने, ‘मैले यो नियम लागू गर्दा सूर्ती उद्योगीसँगै कतिपय सरकारकै अधिकारीहरु ले बैदेशिक व्यापार घाटा हुने भन्दै निर्णय फिर्तालिन दवाव दिइरहेका छन् तर म निर्णय कार्यान्वयन गर्न दृढ छु। किनभने जनताको स्वास्थ्यभन्दा अरु ठूलो कुरा हुनै सक्दैन।’
मुटूरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मानिसमा लाग्ने रोगमध्ये ५० प्रतिशतभन्दा बढी सूर्तीजन्य पदार्थ सेवनकै कारण निम्तिने भन्दै यसलाई नियन्त्रण गर्नसके ठूलो जनधनको क्षतिबाट बचिने बताए।
मुटूरोग, क्यान्सर, दम, हृदयघात, मस्तिस्कघात, मृगौलारोग जस्ता समस्या देखिनुमा सूर्तीजन्य पदार्थकै सेवन प्रमुखकारण हो।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दले राज्यले बनाएको कानून पालना गर्नु नागरिकको कर्तव्य भएको बताए।
सूर्तीजन्य पदार्थ विरु द्ध कार्यरत एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सरकारले हालै संसोधन गरेको सूर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण गर्न बनाएको कानून विश्वकै उदारहरणीय भएको भन्दै अक्षरश: कार्यान्वयन हुनुपर्ने बताए अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।