‘दैलो उघारिदिनेसम्म रहेनन्’ बिरामीको उपचार गर्नमै समस्या भयो

492 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,फागुन २७ – पुकुनगाउँको आङमा घाम लाग्न सकेको छैन । दुई दिनदेखि कुनै घरमा चुलो बलेको छैन ।

चिम्सा,गहिरा आँखा आँसुले टम्म भरिएका छन् । घरीघरी भित्रैबाट निस्केर आँसुको ढिक्कासँगै बहन्छ पीडा । मुस्कान हराएको ओठ कलेटी परेका छन् । फुंग उडेका अनुहारमा शोक र चिन्ताको रेखा मात्र देखिन्छन् ।
असावधानीवश विषाक्त गहुँको रोटी खाएकै कारण सोमबार ६ जना आफन्त गुमाएको तामाङ परिवार शोकको आहालमा चुर्लुम्म डुवेको छ ।
पृथ्वि राजमार्गबाट १५–१६ किलोमिटर टाढाको विपन्न गाउँ पुकुन तामाङ बस्ती हो । अहिले यो बस्तीको आँगनमा अनौठौ सन्नाटा छाएको छ । बाहिरका मान्छेको ओहोरदोहोर र सोधिखोजी सुनिन्छ,गाउँलेको मुख खुल्न भने हम्मेहम्मे छ ।
‘मर्ने त मरिहाले,मेरी छोरी ९सानीमाया० को काठमाडौंमा औषधि हुन्छ रे त्यसलाई चाहिँ बताइदिए हुन्थ्यो’ सोमबार ज्यान गुमाउने सन्जबहादुर तामाङकी जेठी बुहारी ठूलीकान्छीमाया तामाङले शोकको भारी र आसा एकैसाथ बिसाइन् । टिलपिल टिलपिल आँखा बोल्दाबोल्दै ढल्किए,अनुहार लछप्पै भिज्यो ।
घुन किराबाट जोगाउन विषादी मोलेर राखिएको गहुँ पिँधेर आफू र परिवारलाई रोटी खुवाएका सन्जबहादुर सहित परिवारका ६ जनाको मृत्यु भएको हो । षिदादी रोटी खादा बिरामी परेकाहरुको पनि उपचार गर्न समस्या परेको छ । न्युन आर्थिक अवस्था भएका तामाङ परिवार अहिले बिचल्लीमा परेका छन् । उनीहरुले सहयोगका लागी सबैलाई आग्रह पनि गरेका छन् ।