धादिङबेसी बसपार्क पांच दिन देखि बन्द

489 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

buspaark dhading 757402धादिङ– बसपार्क व्यवस्थित गरिनुपर्ने माग राख्दै स्थानीयले पांच दिन अघि वन्द गराएको सदरमुकाम धादिङवेसीको एकमात्र बसपार्क अझै खुल्न सकेको छैन । विग्रिएर कामै नलाग्ने भएका सवारीसाधनहरु थन्कयाएर राख्ने र फोहोर फाल्ने ठाउंको रुपमा मात्र बसपार्कको प्रयोग भएको भन्दै स्थानीयले आईतबार विहान देखि वसपार्क वन्द गराएका हुन ।
बसपार्क रहेको धादिङबेसी पुछारवजार क्षेत्रका बासिन्दाले बसपार्क व्यवस्थित रुपमा संचालन गर्नको लागि स्थानिय प्रशासनलाई पटक पटक आग्रह गरेपनि कुनै पहल नभएको भन्दै बसपार्क व्यवस्थापनको लागि बसपार्क बनाउन निःशुल्क जग्गा दिएका जग्गादाताहरु र बसपार्क आसपासका स्थानियहरु आन्दोलित भएका हुन ।
जिल्लाकै एक मात्र बसपार्क व्यवस्थित बनाउन माग गर्दै बसपार्क निर्माणको लागि निःशुल्क जग्गा दिएकाहरुले आइतबारदेखि अनिश्चितकालिन बसपार्क बन्द गराएका हुन । सदरमुकामका विभिन्न सार्वजनिक स्थलमा राखिएका बस काउण्टरहरु हटाएर बसपार्कमा मात्रै टिकट काउण्टर राखी सवारी संचालन गराउनेपर्ने माग जग्गादाताहरुको छ । आफ्नो माग पुरा नभएसम्म सवारीसाधनलाई बसपार्क प्रवेशमा रोक लगाईएको उनिहरुको भनाई छ । बजारमा बढ्दै गएको जनचापलाई ध्यानमा राखी व्यस्त वजारमा वस काउण्टर राख्न नहुने ठहर गर्दै स्थानीय प्रशासनले बसपार्क भित्रबाट मात्रै टिकट काटेर सवारी संचालन गर्नुपर्ने वताएपनि आफ्नो निर्णय कार्यान्वयन गराउन नसक्दा समस्या बढेको हो । बसपार्कको व्यवस्थापनमा कुनै पनि निकायले चासो नदिंदा पुराना भएर थन्किएका राख्न्े ठाउंको रुपमा बसापर्क प्रयोग भएको स्थानीयको गुनासो छ ।
तत्कालिन नगर विकास समितिसंगको संझौता पछि स्थानीय ९ जनाले १० करोड बराबरको ६ रोपनी ९ आना ३ पैसा साढे ३ दाम जग्गा निशुल्क प्रदान गरेको जग्गादाता मध्येका एक चेतनारायण श्रेष्ठले वताउनु भयो । २०५४ सालमा नै बसपार्क व्यवस्थित बनाउनको लागि भनेर आफुहरुले निशुल्क जग्गा प्रदान गरेको भएपनि हालसम्म नगरविकास समिति, स्थानीय प्रशासन र यातायात व्यवसायी संस्था र व्यवसायीहरुले पुरानो सम्झौता कार्यान्वयन गर्नुको साटो वेवास्ता गर्दै आएकाले आफुहरुले बाध्य भएर बसपार्क बन्द गराएको जग्गादाता कुलप्रसाद ढकालले बताउनुभयो ।
वजार क्षेत्रका विभिन्न स्थानमा रहेका काउण्टरलाई बसपार्कमा स्थानान्तरण गरी सबै सवारी साधन बसपार्कवाट संचालन गर्ने बिषयमा पटक पटक सरोकारवालहरुका बिच छलफल र निर्णय भएकाले पुरानो निर्णय कार्यान्वयन गराउन कडा पहल गरिने धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
सदरमुकामबाट बाहिरिने लामो तथा छोटो दुरीका यात्रुवाहक सवारी साधनहरु बसपार्क भित्रबाट मात्रै संचालन गरी वसपार्क व्यवस्थित गरिने अन्यथा जग्गा फिर्ता गराउने सर्तमा आंफुहरुले जग्गा दिएकाले शर्त लागु नभए जग्गा फिर्ता लिने जग्गादाताहरुले वताएका छन ।
बसपार्क व्यवस्थित गराउन पटक पटक आन्दोलन गर्दै आईरहेका बसपार्कका स्थानियले जिल्लावाट संचालित धादिङ यातायात, ग्रामीण यातायात, धादिङ माइक्रो बस, संयुक्त यातायात बाट छुट्ने सबै प्रकारका यातायातका साधनहरु बसपार्कमा राख्ने र सार्वजनिक स्थल, होटलहरुमा टिकट काट्न बन्द गराउने शर्तमा आन्दोलन स्थगित गराउंदै आएका छन । पहिले गरेको सर्तहरु पालना नभएको भन्दै यस पटक फेरी बसपार्क अनिश्चितकालिन रुपमा बन्द गराइएको हो ।स्थानियले बसपार्कको मुख्य प्रवेशद्वारमा अवरोध गराएर बाटो छेकेका छन ।
यस अघि २०७० साउनमा पनि जग्गादाताहरुले बसपार्क बन्द गराएपछि बसपार्कमा रहेका टिकट काउण्टरहरुलाई पूर्ण रुपले व्यवस्थित गराएर यातायातका साधनहरु बसपार्क केन्द्रित गराउने निर्णय सरोकारवाला निकायका बिच भएको थियो ।