११ वटा राजमार्ग विस्तार हुँदै

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सरकारले एक हजार तीन सय २८ दशमलव पाँच किलोमिटर लामो ११ वटा राजमार्गलाई विस्तार गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ती राजमार्ग तथा सहायक राजमार्गको विस्तारको काम आउँदो आर्थिक वर्ष २०७२÷०७३ बाट सुरु गरिनेछ । मन्त्रालयका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि बुटवलसम्मको पाँच सय ८९ किलोमिटर सडक पनि विस्तार गरिने भएको छ । विस्तार गरिने ११ वटा सडकमध्ये उक्त सडकखण्ड सबैभन्दा लामो हो आर्थिक दैनिक डट कमले खबर लेखेको छ ।

त्यस्तै, पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखराखण्डको ९३ किलोमिटर, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखराको एक सय ५७ किलोमिटर, एक सय ७० किलोमिटर लामो पोखरा–बागलुङ–जोमसोम, ३१ किलोमिटर लामो गल्छी–त्रिशूली–वेत्रावती, धुलिखेल–सिन्धुली–भिट्टामोड सडकअन्तर्गतको ढल्केबर–भिट्टामोड ४३ किलोमिटर, कान्तिराजपथको हेटौंडा–टिकाभैरवको ८० किलोमिटर, २७ किलोमिटरको चौराहा–सिराहा–मादर, ३८ किलोमिटरको गौर–पीपरा–समानपुर–नुनथर, रत्नराजमार्गको कोहलपुर–सुर्खेतअन्तर्गत ८५ दशमलव ५ किलोमिटर र महाकाली राजमार्गको मोहना पुल–अत्तरियाको १५ किलोमिटर सडक विस्तारको काम आउँदो आवबाट सुरु गर्नलागिएको हो ।

यस्तै, सडक बोर्ड नेपालले आउँदो आवमा रणनैतिक सडक मर्मतका लागि सात अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । बोर्डका अनुसार रणनैतिक सडकको नियमित मर्मतका लागि ६६ करोड ५० लाख, पटके मर्मतसम्भारको लागि ६० करोड, आवधिक मर्मतसम्भारको लागि दुई अर्ब दश करोड, विशेष मर्मतसम्भारको लागि दुई अर्ब, रणनैतिक सडकको पुनःस्थापनाको लागि एक अर्ब दश करोड, स्थानीय सडक मर्मतको लागि एक अर्ब र चालू खर्चको लागि तीन करोड ५० लाख रकम लाग्ने जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालय पुँजीगत खर्च सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालयमा पर्छ ।