नेता ढकालको निधनले एमाले स्तब्ध, यसकारण गयो ज्यान

664 पटक पढिएको

सम्पादक: Dhading News

Madhav-Nepal-Bamdev-Ramnath-Deathकाठमाडौँ, २२ चैत । नेकपा एमालेका नेता रामनाथ ढकालको निधनको कारण स्वाइन फ्लुमात्रै नभएको अस्पतालले जनाएको छ ।

काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार, नेता ढकाललाई स्वाइन फ्लु भन्दा अघि नै लिम्फोफ्लोलिफिरिटिज र क्षयरोग थियो । अस्पतालले आइतबार दिउँसो एक बजेर ४० मिनेटमा ढकालको निधन भएको घोषणा गरेको थियो ।

नेता ढकाल अघिल्लो मंगलबार आफै गाडी चलाएर ग्राण्डी अस्पताल पुग्नुभएको थियो । स्वाइन फ्लु लागेको थाहा भएपछि मात्र उहाँ अस्पताल भर्ना हुनुभएको थियो । पुरानो दीर्घकालिन रोगले समेत गाँजेकाले स्वाइन फ्लुले झन् कमजोर बनाएको थियो । तर, सम्पूर्ण प्रयास गर्दा समेत ढकाललाई बचाउन नसकेको डा. पाण्डेले जानकारी दिनुभयो ।

उपचारका लागि भारत लैजाने तयारी भएपनि अवस्था गम्भीर भएकै कारण चिकित्सकहरु डराएका थिए । ग्राण्डी अस्पतालको छतमा हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ भएपनि भेन्टिलेटरबाट झिकेर छतसम्म लैजान र भारत लगेपछि बिमानस्थलदेखि अपोलो अस्पतालसम्म लैजाँदा थप खतरा हुन सक्ने आशंकाले चिकित्सकहरुले यहीँ उपचार गरेका थिए । भारत नलगेपनि भारतको मेदान्त अस्पतालका चिकित्सकहरूसँग निरन्तर सम्पर्कमा रहेर सारा प्रयास गर्दा पनि बचाउन नसकेको डा. पाण्डेले बताउनुभयो ।

नेता  ढकालको मृत्युपछि एमाले नेता-कार्यकर्ता शोकमा परेका छन् । सयौं नेता तथा कार्यकर्ता आँखामा आँसु लिएर अस्पताल पुगेका छन् । पार्टीका सबैजसो बरिष्ठ नेताहरु अस्पताल पुगेका छन् ।

२०१९-२०७१ सम्म 

२०५० सालमा हेटौँडामा सम्पन्न अधिवेशनबाट अनेरास्ववियूका अध्यक्ष भएका ढकाल पार्टीका मिजासिला नेताका रुपमा चिनिनुहुन्थ्यो ।

२०१९ सालमा गुल्मीमा जन्मिएका ढकाल पञ्चायतकालमै अखिलको केन्द्रीय सदस्य र २०४८ सालमा अखिलको केन्द्रीय महासचिव बन्नुभएको थियो । २०५० सालमा अखिलको केन्द्रीय अध्यक्ष भए पनि २०५१ को मध्यावधि चुनावमा एमालेले गुल्मी १ बाट उहाँलाई उम्मेदवार बनाएको थियो । त्यसपछि सांसद निर्वाचत बनेका ढकाल २०६४ सालको संविधानसभा निर्वाचनमा पनि रुपन्देही ५ बाट सभासद् निर्वाचित हुनुभएको थियो । त्यसलगत्तै उहाँ संसदको राज्य व्यवस्था समितिको सभापति समेत हुनुभयो ।

गत असारमा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका ढकाल पोलिटव्युरोमा बढुवा हुनुभएको थियो । केही दिन अघिमात्रै एमालेले उहाँलाई लुम्बिनी अञ्चलको इन्चार्ज बनाएको थियो ।

Ramnath-Dhakal-Death

अन्त्येष्टि सोमबार

यता, संविधानसभाको उपनिर्वाचनका लागि बागलुङको सभालाई सम्बोधन गर्न चितवनबाट बागलुङ जाँदै गरेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पोखराबाटै काठमाडौँ फर्किनुभएको छ ।

एमाले महासचिव पोखरेलका अनुसार, ढकालको पार्थिब शरीर श्रद्धान्जलीका लागि सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने भएको छ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।


स्वाइन फ्लुले मात्रै ज्यान लिन्छ त ?

अन्य रोगपनि मिसिएका कारण ढकालको निधन : डा. वासुदेव पाण्डे, भाइरोलोष्टि

स्वाइन फ्लुको भाइरस ज्यानै लिने त्यस्तो खतरनाक होइन् । २००९ मा पहिलोपटक देखा परेको यो रोगले सुरुवातमा लाखौँ मानिसको ज्यान लियो । तर, पछिल्लोपटक भने यो रोग खतराको रुपमा देखिएको थिइन् । यो रोग समुदायमा फैलिएपनि मृत्युदर निकै कम देखिएको थियो । यो रोगसँग अन्य रोग पनि मिसिएमा, बयोबृद्ध, बच्चा, गर्भवती भएमा मृत्यु हुने यो रोग अलि बढी खतरानाक हुन सक्ने अवस्था रहन्छ ।

एमाले नेता ढकालको निधन पनि स्वाइन फ्लुले मात्रै नभई अन्य रोगपनि मिसिएका कारण भएको देखिन्छ । अन्य रोग पनि भएमा मानिसलाई रोगसँग लड्न सक्ने क्षमता घटाउँछ । यस्तो अवस्थामा स्वाइन फ्लु पनि गम्भीर हुन सक्छ ।

-दैनिक नेपाल डट कमवाट