मुलुकको आर्थिक समृद्धि र विकासका लागि बूढीगण्डकी आयोजना

638 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0221काठमाडौँ,- धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजनालाई कुनै पनि हालतमा ढिलाइ गर्न नहुने र अवरोध गर्न नहुनेमा जोड दिएका छन् ।

काठमाडौँ, पोखरा र चितवनजस्तो अत्याधिक विद्युत् खपत हुने स्थान नजिक रहेको आयोजनालाई जुनसुकै हालतमा सफल बनाउन सरकार, राजनीतिक दल, व्यवसायी, सरोकार भएका निकाय तथा प्रभावित क्षेत्रका जनता प्रतिबद्ध भएर लाग्न आग्रह गरिएको थियो ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिद्वारा शनिवार  आयोजित अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेता, सभासद्, व्यवसायीले आयोजना मुलुकको आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण रहेकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइयो ।

बूढीगण्डकी जलविद्युत् आयोजना केबल जलविद्युत् आयोजना मात्रै नभई बहुउद्देश्यीय आयोजना भएकाले जति सक्दो चाँडो निर्माण सुरु गर्न र बढीभन्दा बढी स्थानीयलाई सहभागी गराउनु पनि आग्रह गरिएको थियो ।

कार्यक्रममा एकीकृत नेकपा(माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको हितका खातिर आफ्नो नेतृत्वको सरकारले सो आयोजना अगाडि बढाएको भएपनि आयोजनामा पछिल्लो दिनमा अनावश्यक राजनीति घुसेको टिप्पणी गर्नुभयो ।

उहाँले आयोजना मुलुकको भविष्य र आर्थिक समृद्धिसँग जोडिएकाले विना अवरोध अगाडि बढ्नुपर्ने र सबै तह र तप्काको सहमति रहेकोमा जोड दिनुभयो ।

आयोजनामा स्थानीय तथा प्रभावित क्षेत्रका जनतालाई सहभागी गराउनुपर्ने र लगानी गर्न अभिपे्ररित गर्नुपर्ने, आयोजनाबाट प्रभावित जनतालाई चित्तबुझ्दो राहत तथा पुनःस्थापनाको प्याकेज ल्याइनुपर्ने उहाँले बताउनुभयो ।

आयोजनाको चर्चा मात्रै हुने र प्रक्रिया अगाडि नबढ्ने भएपछि तत्कालीन एमाओवादी नेतृत्वको सरकारले विकास समिति गठन गरेर काम सुरु गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता डा भट्टराईले बहाना झिकेर आयोजना पर सार्ने काम नगर्न ऊर्जा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आयोजनाबाट सबैभन्दा बढी प्रभावित आफ्नै परिवार भएपनि पूर्ण प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

आयोजना जुनसुकै पनि अगाडि बढ्ने र प्रभावित क्षेत्रमा जनताले थातथलो छाड्नुपरे पनि तयार रहेको उल्लेख गर्दै श्रेष्ठले सरकार, प्रमुख राजनीतिक दल र व्यवसायीले सक्रियतापूर्वक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । आयोजनाको कुल लागत रु दुई खर्ब ५० अर्ब रहेको छ ।

हाल सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्ने काम भइरहेको छ । फ्रान्सेली कम्पनी ट्याक्टबेलले आगामी असारभित्र डिपिआरको काम पूरा गर्ने जनाएको छ ।

कार्यक्रममा नेकपा(एमाले)का सभासद् गुरुप्रसाद बुर्लाकोटीले आयोजना सफल पार्ने प्रमुख दायित्व धादिङ र गोरखाका जनताको भएको उल्लेख गर्नुभयो ।

टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष रमेश धमलाले आयोजनामा मुलुकभरका सबै व्यवसायीलाई सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

“आयोजना स्वदेशी लगानीमा सम्पन्न गर्नुपर्छ, विदेशी लगानी खोज्नु हुन्न, सरकारले वातावरण बनाओस् हामी लगानी गर्न तयार छौँ”– अध्यक्ष धमलाले भन्नुभयो ।

कार्यक्रममा धादिङ र गोरखाका पूर्व सभासद्, दुवै जिल्लाका जनता र प्रभावित क्षेत्रका बासिन्दाको सहभागिता थियो ।