सवारी दुर्घटना न्यूनिकरणका लागि धादिङका सरोकारवाला निकाय बिच छलफल
78 पटक पढिएको

धादिङ,फागुन २१ । धादिङमा सवारी दुर्घटनापछि उत्पन्न हुने भयावह अबस्थाको न्यूनीकरणबारे मंगलबार जिल्लामा रहेका सरोकारवाला निकायका प्रतिनिधिहरुले छलफल गरेका छन् ।
फागुन २० गते मंगलबार जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा दुर्घटना न्यूनीकरण सम्बन्धी सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, यातायात व्यवसायीहरुका प्रमुख एवं प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि एक–अर्कालाई आरोप प्रत्यारोप गरेर नहुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे बताउनुहुन्छ । दुघर्टनाले निम्त्याउने भयावह अबस्था सबैका लागि पिडादायी हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरुको जिम्मेवारी रहने प्रजिअ घिमिरेको सुझाव छ ।
सडक मानवीय जीवनका लागि अपरिहार्य पक्ष र विकासको सूचक भएको तर, त्यही सडक मान्छेको मृत्युको कारण बन्ने गरेको हुँदा दुघर्टना हुन नदिन सवारी चालक, ट्राफिक प्रहरी, आम नागरिक लगायत सबैपक्ष सचेत र जागरुक हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र शाहीले कानून अनुसार सवारीचालक अनुमति पत्र (लाइसेन्स) बिना सवारीसाधन चलाउन दिने व्यक्ति पनि दोषी हुने भएकाले यातायात धनीहरु पनि जिम्मेवार हुनुपर्ने वताउनु भएको थियो । लेन अनुशासनको पालना हुन नसकेको,क्षमता भन्दा बढी यात्रु र मालसामान बोक्ने, लाईसेन्स नभएका व्यक्तिले सवारी चलाउने,सडकमा सवारी साधन बिच अस्वस्थ्य प्रतिस्पर्धा ,सवारीसाधनको तीव्र गती जस्ता कारणले सवारी दुर्घटना बढ्दै गएकोले सवारी दुर्घटना किन बढ्यो भन्ने कुरामा चिन्तित हुँदै यसको न्यूनीकरणका लागि सबैले चिन्ता र चासो राख्नु पर्ने एसपी शाहीको भनाई थियो ।
आगामी दिनमा सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकावाला पक्षहरुले गाउँ गाउँ सम्म जनचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न प्रहरी,स्थानीय तह,यातायात व्यवसायी, यातायात मजदुर,उद्धारमा सक्रिय समूहसंग समन्वय गर्दै अघि बढ्ने निचोड बैठकले निकालेको छ ।
दुर्घटना न्यूनीकरणका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर राय –सुझाव सल्लाह लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले वताउनु भयो ।