सार्वजनिक यातायातमा यात्रुबाट दैनिक लाखौ ठगी

634 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

baneshor3_411201225_535169869_709501226
काठमाडौं : मिलेमतोमा सार्वजनिक यातायात व्यवसायीले यात्रुबाट दैनिक लाखौंं रुपैयाँ ठग्दै आएका छन्।व्यवसायीले सरकारले तोकेको न्यूनतम भाडा दरभन्दा बढी रकम असुलेर उपत्यकाबाट हरेक दिन ३६ लाख रुपैयाँभन्दा बढी असुलेको पाइएको छ।
यातायात क्षेत्रका बेथिति सम्बोधन गर्न यातायात व्यवस्था विभागको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन भए पनि प्रभावकारी रूपमा नियमन नहुँदा यात्रुहरूले न्यूनतम दूरीमा सरकारले तोकेभन्दा दुई रुपैयाँ बढी भाडा तिर्नुपरेको छ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर शून्यदेखि चार किलोमिटरसम्मको दूरीमा १३ रुपैयाँ भाडा दर तोकेको छ। गत माघ २६ गते पेट्रोलियम पदार्थको मूल्य घटेपछि १४ रुपैयाँबाट घटाएर न्यूनतम भाडा १३ रुपैयाँ कायम गरिएको हो।
यसअघि पुस ९ गते शून्यदेखि चार किलोमिटरसम्मको दूरीको न्यूनतम भाडादर १५ बाट घटाएर १४ रुपैयाँ कायम भएको थियो। तर व्यवसायीले चार किलोमिटरसम्म यात्रा गर्ने यात्रीबाट पनि १५ रुपैयाँ असुल गर्दै आएका छन्। यसरी अवैध रूपमा असुल गरिने बढी भाडादरका कारण व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ आर्जन गरेका हुन्।
यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले सरकारले वैज्ञानिक भाडादर १३ रुपैयाँ ७२ पैसा निर्धारण गरे पनि यातायात व्यवसायीसँगको सहकार्यमा न्यूनतम भाडा दर १३ रुपैयाँ कायम गरिएको बताए।
‘सरकारले राजपत्रमा पनि न्यूनतम भाडादर १३ रुपैयाँ नै तोकेको छ। १३ रुपैयाँभन्दा बढी असुल गर्नु अवैधमात्रै होइन, सीधै ठगी हो। हामीले प्रभावकारी अनुगमन गर्न नसक्दा व्यवसायीले समग्रमा प्रत्येक दिन अवैध रूपमा यात्रुबाट लाखौं रुपैयाँ असुल्दै आएका छन्’, अधिकारीले शुक्रबार अन्नपूर्णसँग भने, ‘व्यवसायीहरूले अपारदर्शी रूपमा ठूलो रकम यात्रुबाट असुल गरिरहेको गुनासो आएको छ। निकट समयमै प्रभावकारी अनुगमन थाल्दैंछौं।’
न्यूनतम भाडाभन्दा दुई रुपैयाँ बढी असुल, सरकार मौन
सरकारले आफैंले निर्धारण गरेको भाडादर कार्यान्वयन कसरी भएको छ भन्ने अनुगमन नगर्दा व्यवसायीले जबरजस्ती यात्रुबाट १३ रुपैयाँको साटो १५ रुपैयाँ असुल्दै आएको उपभोक्तावादी जगरनाथ मिश्र बताउँछन्।
उनले भने, ‘सरकारले ठग्न छुट दिएका कारण व्यवसायीले अवैध रूपमा यात्रुबाट दैनिक लाखौं असुलेका छन्।’ भाडादर बढाउन हडतालमा उत्रिने व्यवसायीले घटेको भाडादर लागू गर्न कन्जुस्याइँ गर्दै आएका छन्। यात्रुले सरकारले तोकेबमोजिम भाडा लेऊ भन्दा उल्टै तिरस्कृत हुनुपरेको मिश्रले बताए।
सार्वजनिक यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने सरकारले न्यूनतम भाडादर १४ रुपैयाँ निर्धारण गरेको दाबी गर्छ। महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीले यात्रुबाट १४ रुपैयाँमात्र भाडा असुल गरिरहेको दाबी गरे।
‘सरकारले वैज्ञानिक न्यूनतम भाडादर १३ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ’, उनले भने, ‘५० पैसाभन्दा बढी भयो भने हामीले त्यसलाई एक रुपैयाँ बनाएर अर्थात् १३ रुपैयाँ ७२ पैसाको स्थानमा १४ रुपैयाँ लिन निर्देशन दिएका छौं।
कसैले १४ रुपैयाँभन्दा बढी भाडा लिएको भए तत्काल मलाई जानकारी दिनुस्।’ खुद्रा नहुँदा केही यात्रुले बढी पैसा तिर्नुपरेको हुनसक्ने उनले बताए।
महासंघको तथ्यांकलाई मान्ने हो भने उपत्यकामा दैनिक करिब ८९ हजार पाँच सय यात्रुवाहक बस, मिनिबस र माइक्रोबस गुड्छन्।
महासचिव सिटौलाका अनुसार एउटा सवारीसाधनले एक ट्रिपमा औसत २५ जना बोक्छ र त्यो आफ्नो रुटमा दिनभरमा तीनदेखि ६ पटकसम्म ओहोरदोहोर गर्छ। तथ्यांकअनुसार ८९ हजार पाँच सय सवारीसाधनले एक ट्रिपमा मात्रै २२ लाख ३७ हजार पाँच सय यात्रु बोक्छन्।
यसमध्ये झन्डै २० प्रतिशतका दरले चार लाख ४७ हजार पाँच सयको संख्यामा विद्यार्थीले यात्रा गर्छन्। बाँकी १७ लाख ९० हजार अन्य यात्रु हुन्छन्।
यस आधारमा विद्यार्थीबाहेक न्यूनतम दूरीमा सरकारले तोकेको भाडाभन्दा बढी असुल गरिने दुई रुपैयाँका दरले ३५ लाख ८० हजार रूपैयाँ प्रतिट्रिप व्यवसायीले यात्रुबाट असुल्छन्।
तीन ट्रिपको मात्रै हिसाब गर्ने हो भने पनि व्यवसायीहरूले एक करोड सात लाख ४० हजार रुपैयाँ ठगेर अतिरिक्त आम्दानी गर्छन्।
उपभोक्तावादी मिश्रका अनुसार सरकारले निर्धारण गरेको न्यूनतम भाडा तिर्न खोज्ने यात्रु कि बसका सहायक (कन्डक्टर) बाट तिरस्कृत हुनुपर्छ कि उसलाई बीच बाटौमै झारिन्छ। कहिलेकाहीं कन्डक्टर र चालकको दादागिरीका कारण यात्रुले मुड्कीसम्म खानुपर्ने अवस्था उत्पन्न हुन्छ।
उनका अनुसार मंगलबार बानेश्वर थापागाउँबाट अनामनगर हनुमानस्थानसम्म यात्रा गरेका एक दम्पतीले न्यूनतम भाडा दिँदा व्यवसायीबाट तिरस्कृत मात्रै हुनुपरेन, हातपातसम्म हुने अवस्थाको सामना गर्नुपर्‍यो।
थापागाउँका सुरेश कर्माचार्य पत्नीसहित नेपाल यातायातको बा१ख ८५७९ नम्बरको बसबाट हनुमानस्थानसम्मको यात्रा गरेका थिए।
उनले १३ रुपैयाँका दरले दुईजनाको २६ रुपैयाँ कन्डक्टरलाई दिए। कन्डक्टरले ३० रुपैयाँ मागेपछि किचलो भएको थियो अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।