पहाडी र बढी घुम्ती भएका सडकमा दुई तले बस गुड्न रोक

901 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



काठमाडौं,  – सरकारले मुलुकको पहाडी र बढी घुम्ती भएका सडकमा दुई तले बस गुड्न रोक लगाएको छ। पशुपतिनाथको दर्शन गरेर फर्किंदै गरेको भारतीय ‘डबल-डेकर’ बस बुधबार झ्याप्ले खोलामा दुर्घटना हुँदा १७ जनाको ज्यान गएपछि सरकारले त्यस्ता सवारीलाई घुम्ती बढी भएका सडकमा गुड्न प्रतिबन्ध लगाएको हो।

MUMBAI-DOUBLE-DECKER‘हामीले नेपालभर खबर पठाइसकेका छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भने, ‘सानो र घुम्ती बढी भएका सडकमा ठूला सवारी घुडाउँदा दुर्घटना हुने सम्भावना अत्यधिक हुन्छ।’

उनले पथलैया-काँकडभिट्टा खण्ड र बुटवल-वनबासा खण्डबाहेक नेपालका कुनै पनि सडकमा ‘डबल-डेकर’ सवारी चलाउन नपाइने बताए। ‘चलाएको देखिए तुरुन्त कारबाही हुन्छ,’ उनले भने, ‘हामीले बिहीबारै यसबारेमा हाम्रा कार्यालयहरूमा निर्देशन दिइसकेका छौं।’

भारतको गुजरात राज्यको सुरेन्द्रनगर जिल्लाबाट आएका तीर्थयात्री चढेको बस बे्रक-फेल भएपछि दुर्घटना भएको चालक राजुराज सिंहले बताएका थिए। महानिर्देशक बुर्लाकोटी ठूलो बस हुनु पनि बुधबारको दुर्घटनाको एक कारण मान्छन्।

डबल-डेकर बसलाई वैज्ञानिक रूपमा एक सय २० डिग्रीको मोड आवश्यक पर्ने उनले जानकारी दिए। उनले भने, ‘तर हाम्रा सडकहरू ३० डिग्रीभन्दा कम मोड भएका छन्। सामान्यतया डबल-डेकर बसलाई कम्तीमा पनि ७० डिग्रीको घुम्ती चाहिन्छ। नत्र सन्तुलित रूपमा बस चलाउन गाह्रो हुन्छ।’

लाइसेन्सको समस्या ४५ यात्रु बोकेको भारतीय बस धार्दिङको नौबिसे-३ सिस्नेटार र झ्याप्ले खोलाबीचमा भीरमा खसे लगतै भारतीय लाइसेन्स भएका चालकलाई नेपालमा सवारी चलाउन दिइनु उपयुक्त नहुने हो कि भन्ने प्रश्न उठेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी बताउँछन्।

‘भारत र नेपालको सडकमा सवारी चलाउनु फरक कुरा हो,’ उनले भने, ‘उता र यताको भौगोलिक स्थिति फरक छ।’

खुला सीमा रहेको भारतसँग नेपालमा हालसम्म भने कुनै पनि चालक सवारी लिएर भारतबाट नेपालमा तोकिएको समयका लागि छिर्दा उतैको लाइसेन्स लिएर सवारी चलाउन पाउँछ। ‘सीमामा सवारी दर्ता गरेपछि चालकले तोकिएको समयसम्म भारतकै लाइसेन्स देखाएर नेपालमा सवारी चलाउन पाउँछन्,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले भने।

भारतीय चालकले नेपालमा वा नेपालको चालकले भारतमा सवारी चलाउन पाउने वा नपाउने भन्ने कुरा नेपाल-भारतबीच सवारी सम्झौताका क्रममा टुंगो लाग्ने विभागका महानिर्देशक बुर्लाकोटीले बताए। उनी हालै नयाँ दिल्लीमा भएको नेपाल, भारत, भुटान र बंगलादेश सम्मिलित सवारी साधन सञ्चालनसम्बन्धी बैठकमा सहभागी भएका थिए इकान्तिपुर डटकमले लेखेको छ ।