यस्तो पो बिवाह ! न जन्ती र भब्य भोज न त दाइजो र बाजागाजा नै

915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैशाख – न त झ्याइँ झ्याइँ बाजा न त लावालस्कर जन्ती नै ।  न त कमजोर आर्थिक अबस्थाको परिवार न त भागी बिबाह नै  । हो, हिजो धादिङ्मा एउटा यस्तो बिबाह भयो जुन नेपाली समुदायकै लागि नमुना बिबाह बन्यो । सम्पन्न परिवारका दुलाहा दुलहीको मागी बिबाह नै सामान्य ढंगबाट सम्पन्न भएपछि समुदाय छरछिमेक अचम्ममा परे ।

bibah_Fotor1-400x287

बैवाहिक पद्धति र संस्कार दिनदिनै खर्चिलो र भड्किलो बनिरहेको समयमा धादिङ्ग छत्रेदेउराली वडा नं ८ का सम्पन्न परिवारकै एक यूवाले भड्किलो परम्परालाई तोडी सरल तरिकामै सम्पूर्ण विधी पुराई विवाह सम्पन्न गरेका छन ।

तोयानाथ रिजालका कान्छा छोराले धादिङ्ग,गोगनपानीका सिर्जना रेग्मीसँग केही पनि दाइजो नलिई ४ जना जन्तीका साथमा  एक चीम्टी सिन्दुर र एकजोर लुगामा दुलही भित्र्याएपछि अहिले उनी धादिङ्ग जिल्ला भरी नै चर्चाका पात्र बन्न पुगेका छन् । बिवाह समारोहको दिन बिहानै जन्त जान भनेर आएका केहि इष्टमित्र ‘सर्पाइज’मा समेत परेका थिए । उनीहरु आउनु भन्दा अघि नै घरबाट दुलाहा सहित ४ जना जन्ती काठमाडौको लाग प्रस्थान गरेको थियो ।

बिवाह समारोह काठमाडौको आदेश्वर मन्दिरमा सम्पन्न भएको थियो । जन्ती धेरै नल्याए पनि हाम्रो हिन्दु पद्धति अनुसारका सबै सम्पन्न गरेको पण्डित केशव प्र. पौडेलले बताउनु भयो । दुलही लगभग डेढ बजे भित्राइसकीएको थियो । दुलाहातर्फका इष्टमित्रहरु पनि जन्ती र भोज एकैदिन भएकाले भोज खाएर दुल्हा दुलहीलाई आर्शिवाद दिई घर फर्कन पाएकोमा दङ्ग परेर भन्दै थिए वा “यस्तो पो बिवाह” ।

बिहेमा दुलाहा मख्ख पर्नु त स्वाभाविक नै भयो त्यसमाथि समाजकै नमुना विहेबाट दुल्हा बाल्मीका रीजाल पनि दङ्ग छन् । ”यो मेरो केहि बर्ष अघि देखिकै सोच हो, म आफुले बुझ्ने भएदेखि नै भड्किलो र खर्चिलो पाराले बिवाह गर्ने पक्षमा थिइन, ४ जना लिएर दुलही लिएर आउछु भनेको थिएँ नभन्दै भने जस्तै भयो ।” उनले भने । ”हाम्रो मागी बिवाह नै हो, केटाकेटी हेराहेर गर्ने काम भयो, मन परेपछि बिहेको लागि मन्जुरी भयौ, हाम्रो दाम्पत्य जीवन सुखमय बनाउने भनेको हाम्रै हातमा छ, हजारौलाई भोज खुवाएर र लस्कर जन्ती लगाउदैमा बिहे हुन्छ भन्ने मलाई लाग्दैन, आफ्ना इष्टमित्रलाई जो सकेको एकछाक खुवाइयो । ” उनले थपे ।

ऋण गरीगरी छोराछोरीको बिहे गरिरहेको समयमा एउटा सम्पन्न परिवारले यस्तो सरल तरिकाले बिवाह गरेको देखेर सारा गाँउ नै चकित देखिएको छ । भोज खान आएका काठमाडौ सीतापाईलाका मणि प्र बास्कोटाले भने ”सम्पन्न परिवारको मानिसले पनि केटीपक्षलाई एकदमै सरल पर्ने गरि समाजलाई नै सन्देश दिने बिवाह समारोह गर्नु भएकोमा दुल्हा पक्षलाइ धेरैधेरै धन्यवाद दिन चाहन्छु ।”

“सबैलाई सरल होस र एउटा नया परम्पराको शुरुवात गरौ, परिवर्तन भनेको आफैबाट शुरु गर्नुपर्दछ भनेर सरल तरिकाले बिना दाइजो र जन्तीबिना बिहे गरेका हौ ताकि भोलिका दिनमा दाइजोका कारण छोरीको बिवाह गर्न नसकेर कुनैपनि बावुले आत्महत्या गरेको र दाइजो नल्याएको निहुमा कुनै पनि बुहारीले जिउदै जलेर मर्न नपरोस”- दुल्हाका दाजु द्धारिका रिजालले भने ।  यसरी सरल तरिकाले बिवाह गर्न चाजोपाजो मिलाउने काम दुल्लाहाका भान्जा गोकुल प्र. पौडेलले गरेका थिए ।- (अनलाइन पत्रिका)