‘उद्धार’का नाममा झार्लाङका ४६ बालबालिका राजधानी लगियो

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २४ वैशाख  । उत्तरी धादिङको भूकम्प पीडित झार्लाङ गाउँबाट काठमाडौंको एउटा संस्थाले विना स्वीकृति ४६ जना बालबालिका काठमाडौं ल्याएपछि सरकारले रोक्ने भएको छ ।
राजधानी उपत्यकाको ललितपुरको नख्खुमा कार्यालय रहेको विन नेपाल नामक संस्थाले गाडी रिजर्व गरेर बिना अनुमति ४६ जना बालबालिका ल्याएपछि केन्द्रीय बाल कल्याण परिषद्ले रोक्न लागेको परिषद्का अध्यक्ष तारक धितालले बताए ।
धादिङबाट आजै बालबालिका लिएर संस्थाका प्रतिनिधि काठमाडौं आउँदै छन् । अध्यक्ष धितालले भने, ‘कुनै कागजात पूरा नगरी धेरै बालबालिका काठमाडौं ल्याइदैछ भन्ने जानकारी पाएपछि हामीले रोक्न लागेका हौं ।’
बालबालिका लिएर संस्थाका प्रतिनिधि मलेखु पार गरिसकेका छन् । आफूलाई विन नेपालकी कर्मचारी बताउने नेरी भोसियाले भने धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अनुमतिमा बालबालिका काठमाडौं ल्याएको  दावी गरेपनि प्रमुख जिल्ला अधिकारी घिमिरेले आंफुले कसैलाई पनि वालवालिका लैजान अनुमति नदिएको बताएका छन ।
‘हामीलाई सिडिओले अनुमति दिएर बालबालिका ल्याएका हौं’ भोसियाले टेलिफोनमा भनिन्, ‘हामीले बालबालिकाका अभिभावकको नागरिकता पनि ल्याएका छौं ।’संचारिका अनलाइनले खबर लेखेको छ ।
प्रमुख जिल्ला अधिकारीले नै फोटो खिचेर बालबालिका पठाएका उनको दाबी छ । यद्यपि एक बस बालबालिका कहाँ राख्ने भन्ने अझै निश्चित छैन । उनले भनिन्, ‘हामीलाई पुल्चोक आउनु भनेका छन् । कहाँ लैजाने थाहा छैन ।’
वालवालिका काठमाण्डौं लगिएको वारेमा जानकारी लिन खोज्दा जिल्ला वाल कल्याण अधिकारी हरी उप्रेतीको मोवाईल स्विच अफ भएकाले सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले भने अभिभावकले नै बालबालिका संस्थालाई जिम्मा लगाएको बताए । ‘अभिभावक भएका बालबालिकालाई बाल कल्याण समितिले आधिकारिक हस्तान्तरण गर्न मिल्दैन’ डिएसपी मल्लले भने, ‘बालबालिकाका काकाहरुले अनुमति दिएर उनीहरुलाई काठमाडौं लगिएको हो ।’
विनाशकारी भूकम्पका कारण परिवार समस्यामा परेका बेला हतार हतारमा उद्धारका नाममा बालबालिकालाई अन्यत्र लैजानु उचित नहुने सरोकारवालाहरूले बताएका छन्।
‘यस्तो विपत्तिका बेला बालबालिका अभिभावकसँगै रहन पाउनुपर्छ,’ युनिसेफ नेपालकी संचार अधिकृत रुपा जोशीले भनिन्, ‘यस्तो बेलामा बालबालिकालाई आफ्नो ठाउाबाट अन्यत्र लैजाँदा बेचबिखन र दुर्व्यवहारको खतरा हुन्छ।’