धादिङका अधिकांश पत्रकार घरविहीन 

578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150429_101142धादिङ, – दिनभर अरूको दुःख र पीडा खोतल्दै हिँड्ने पत्रकार साँझ परेपछि आफैं सडकमा बास बस्न बाध्य छन् । गत १२ वैशाखको विनाशकारी महाभूकम्पले धेरैको घर भत्काइदियो । भत्कन बाँकी रहेका घर पनि डरलाग्दो अवस्थामा पु¥याइदियो । भूकम्पपछि उत्पन्न असहज परिस्थितिबारे पलपलमा नयाँनयाँ खबर बाहिर ल्याउने पत्रकार आफैं पनि विपद्बाट प्रभावित हुन पुगेका छन् ।

भूकम्पबाट गोरखापत्रका पत्रकार सुमन भोम्जनको मृत्यु भएको पुष्टि भइसकेको छ । भूकम्पकै कारण पत्रकार महासंघका केन्द्रीय सदस्य माधव दुलालका बाबु र राजधानी दैनिक प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष भरत शर्माकी आमाको निधन भएको छ । परिवारका सदस्य गुमाउने पत्रकारको संख्या पनि कम छैन । यसैगरी घाइते अवस्थामा रहने पत्रकारहरू धेरै छन् ।

बाहिर शरीरमा घाउचोट नलागे पनि धेरै पत्रकारको मनमा भने गहिरो चोट परेको छ । यस्तै, एक जनामध्येका हुन्, धादिङ जिल्लाका क्रियाशील पत्रकार केशव अधिकारी । १५ वर्षदेखि पत्रकारितामा सक्रिय अधिकारीको समाचारले कुनै बेला निकै चर्चा पाउने गर्दथ्यो, तर अहिले उनी आफैं समाचार बन्नुपरेको छ । पत्रकार आफंै समाचार बन्नु हुँदैन भन्ने पत्रकारिताको मान्यता हो । तर, यतिबेला तिनै पत्रकारहरू समाचार बन्नुपर्ने अवस्थामा पुगेका छन् ।

भाइ अलग भएपछि बाबुआमाको साथमा थिए उनी । बाबुआमासँगै बस्दै आएका अधिकारीले भूकम्पको धक्का सहँदै तत्काल आमालाई फोन गर्दा घर लडेको खबर पाएका थिए । बैरेनी गाविस–९ बराडाँडामा रहेको घर अहिले खण्डहरमा परिणत भइसकेको छ, जुन घर उनी आफैंले ऋण लिएर बनाएका थिए । आफू सदरमुकाममा बसे पनि नियमितजसो घर गइरहने गर्दथे उनी । आफैंले दुःख गरेर बनाएको भूकम्पमा परेर लडे पनि यस्तो महाविपद्मा आमालाई सकुशल भेट्न पाएकोमा भने उनी केही खुसी देखिन्छन् । निरन्तरको भूकम्पले घर भत्किए पनि घरमा कोही नभएकाले घरभित्र रहेको सरसामान, अन्नपात, भाँडाकुँडा र अन्य जिन्सी सामान निकाल्नसमेत नभ्याइएको अधिकारी बताउँछन् ।

१२ वैशाखको महाभूकम्पले घर भत्कने धादिङका पत्रकार केशव मात्रै एक्ला भने होइनन् । रामेश्वर कार्की, सीताराम अधिकारी, नारायण सुवेदी, सुदर्शन खतिवडा, मुरारी अधिकारी, अर्जुन खतिवडा, बाबुराम श्रेष्ठ, काजी श्रेष्ठ, संगीता आलेमगरलगायत ७२ जना पत्रकारको घर पूर्णरूपमा क्षति भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीले बताए ।

महाभूकम्पपछि विपद्मा परेकाहरूको पीडालाई नजिकबाट नियाल्दै गाउँबस्ती र कुनाकन्दरामा पुग्ने गरेका पत्रकार दिनभर खुसी देखिए पनि रात छिप्पिँदै जाँदा आफैं पीडामा पर्ने गरेका छन् । धादिङका पुराना पत्रकार सीताराम बर्माको घर क्षतिग्रस्त हुन पुगेको छ भने नेपाल टेलिभिजनका समाचारदाता शिव सिलवालको पनि धादिङबेसीमा रहेको घर चिरा परेर जोखिमपूर्ण बनेको पत्रकारहरू नै बताउँछन् । पत्रकार भएकै कारण आपत्विपद्मा अरूले भन्दा बढी जोखिम मोल्नुपर्ने अवस्था पत्रकारहरूको छ ।

-राजधानी दैनिकबाट